माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।
केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त छन् । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएको थियो ।
शनिबारको दिन बैठक स्थगित गरिएपछि आजबाट सङ्गठनलाई पूर्णता दिने तयारी छ । पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । माओवादीको विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ ।
त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएका छैनन् । माओवादीमा निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।
तपाइँको प्रतिक्रिया