माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आइतबारका लागि तय भएको बैठक अन्तिम समयमा आएर गृहकार्य नपुगेको भन्दै स्थगित भएपछि आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएको विषयमा छलफल हुनुबाहेक पार्टीको कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुन सकेको छैन । आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ ।
माओवादी केन्द्रभित्र केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा सहमति जुटाउन सकस परेको छ । गत पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएका छैनन् ।
तपाइँको प्रतिक्रिया