देश विकासलाई अघि बढाउन हाम्रै सरकारको पालामा थुप्रै इट्टा थपिए : ओली

गैँडाकोट, २३ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास कसरी गर्ने भन्ने बाटो लिईसकेको बताएका छन् । कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले देश विकासलाई अघि बढाउन आफ्नो सरकारको पालामा थुप्रै इट्टा थपिएको बताए ।
हरेक क्षेत्रमा काम गर्नेहरुले अब आधुनीकिकरणको बाटो , प्रविधी प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो , स्वरोजगार सृजना गर्ने बाटो अबलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो । ‘ शिक्षा, स्वास्थ्य , उद्योग ,व्यापार विद्युतीकण जस्ता जुनसुकै क्षेत्रको विकास गर्ने बाटो हामिले लिईसकेका छौँ । हामिसंग देश विकासको भिजन छ त्यसै कारण हाम्रो राष्ट्रिय आकाङछा भनेको सुखी नेपाली समृद्ध नेपाल हो । ’ उनले भने ।यस क्रममा ओलीले मझीलाल थारुको नाममा २ लाख रुपैयाँको अक्षयकोषको समेत घोषणा गरेका थिए ।
पूर्वी नवलपरासीका पूर्वसांसद मझीलाल थारु थनैतको नाममा आफूले २ लाखको अक्षयकोष स्थापना गरेको ओलीले घोषणा गरेका हुन् । मध्यबिन्दु बहुमुखी क्याम्पसले संचालन गर्ने गरी उक्त अक्षयकोषका लागि आफू काठमाडौं पुगेपछि २ लाख रुपैयाँ पठाइदिने प्रतिबद्धता व्यक्त गरे ।
‘संचालनको जिम्मा तपाइँहरूको,’ ओलीले मन्तव्यको सुरुमै भने, ‘यो क्याम्सपमा मझीलालको योगदानको कदर स्वरुप अक्षयकोषको स्थापना गरिएको जानकारी गराउँदछु ।’
थारु २०४८ सालपछि नवलपरासीबाट २ पटक सांसद निर्वाचित भइसकेका नेता हुन् । एमाले नेता थारुको योगदानको कदर गर्दै ओलीले आफनो व्यक्तिगत तवरबाट थारुको नाममा २ लाखको अक्षयकोष स्थापना गरेको बताएका हुन् । २०४८ सालपछि लुम्बिनी अञ्चलबाट एमालेबाट निर्वाचित एक्लो सांसद थिए उनी । उनलाई त्यतिबेला लुम्बिनी टाइगर पनि भनेर चिनिनथ्यो ।
तपाइँको प्रतिक्रिया