राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’ : सोमबार भएको खेलमा चितवन विजयी

गैँडाकोट, २३ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’मा चितवन क्रिकेट सङ्घ विजयी भएको छ । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा चितवन क्रिकेट सङ्घले कास्की क्रिकेट सङ्घलाई ११ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १३१ रन जोडेको थियो ।
चितवनको जितका लागि दीपेश श्रेष्ठले ११ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै २५ रनको योगदान दिनुभयो । त्यस्तै, सुजन चापागाईले १९ बलमा एक छक्का र दुई चौका प्रहार गर्दै २४ रनको योगदान तथा शाकार ढकालले १७ रनको योगदान दिनुभयो । चितवनका अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ कास्कीका सुवाष भण्डारीले चार ओभरमा २२ रन खर्चिदै तीन विकेट लिनुभयो । त्यस्तै, कास्कीका कृष्ण पौडेलले चार ओभरमा २२ रन खर्चिदै दुई विकेट लिनुभयो । १३२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कास्की २० ओभर खेल्दै सबै विकेट गुमाएर १२० रनमा समेटिन पुग्यो ।
कास्कीका लागि मुस्कान थापाले ४३ बलमा एक छक्का र चार चौका सहित ३५ रनको योगदान तथा अनिल गुरुङले २१ बलमा एक छक्का र दुई चौका सहित २६ रनको योगदान दिनुभयो । कास्कीका थापा र गुरुङ बाहेकका अन्य ब्याट्स म्यानले दोहोरो अङ्क नजोडि पेबिलोन फर्किन बाध्य भएका थिए । बलिङतर्फ चितवनका गौतम केसीले चार ओभरमा १४ रन खर्चिदै तीन विकेट, दीपेश श्रेष्ठले चार ओभरमा २१ रन खर्चिदै दुई विकेट तथा क्रिजन गुरुङले चार ओभरमा २४ रन खर्चिदै दुई विकेट लिनुभयो ।
आजको खेलमा चितवन क्रिकेट सङ्घका दीपेश श्रेष्ठ म्यान अफ दी म्याच घोषित हुनुभयो । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा शुरु भएको प्रतियोगितामा नवलपुर, बागलुङ, पर्वत, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु दुई लाख सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख ५० हजार सहित कप मेडल र प्रमाणपत्र पाउनेछ । सो प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत नगद सहित कप, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल यही फागुन २५ गते हुनेछ ।
तपाइँको प्रतिक्रिया