आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं, २४ फागुन। मंगलबार १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। यो दिवस मनाउन थालेको ११२ वर्ष पुगेको छ।
यस वर्ष ’सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्। राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता, लैङ्गिक विभेद तथा हिंसा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन्।
सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो। सो मितिमा पहिलो पटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदूूरहरुको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो। १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे। फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो। जुन गे्रगरियन क्यालेन्डर अनुसार ८ मार्च थियो। त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ।
हरेक वर्ष यस दिनलाई महिला दिवसको रूपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरूको अवस्थामा खासै परिवर्तन हुन सकेको पाइँदैन। यद्यपि महिला अधिकारका बारेमा पछिल्ला दिनहरूमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ।
पहिलो पटक नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो। त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए।
तपाइँको प्रतिक्रिया