गैँडाकोट नगर अस्पतालमा अन्तरङ्ग सेवा एवं एम्बुलेन्स सेवाको शुभारम्भ

गैँडाकोट, २७ फागुन । नवलपरासी पुर्वको गैँडाकोट नगरपालिकाको नगर अस्पतालमा अन्तरङ्ग सेवा एवं एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ । नगरपालिकाको वडा नम्वर ११ स्थित पितौजीमा रहेको स्वास्थ्य चौकीलाई नै स्तरोन्तती गर्दै गतवर्ष नगर अस्पतालको रुपमा सञ्चालन गरिएको थियो ।
चौबीसै घण्टा आकस्मिक सेवा सहित, प्रसूति सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा सहित जनस्वास्थ्यका सेवाहरु प्रदान गर्दै आइरहेको उक्त अस्पतालमा शुक्रबारदेखी अन्तरङ्ग सेवाको शुभारम्भ गरिएको हो । साथै वैदेशिक रोजगारमा रहेका युवाहरुको आर्थिक सहयोगमा अस्पतालको लागि खरिद गरिएको एम्बुलेन्स पनि शुक्रबार देखी नै सञ्चालन गरिएको छ ।
सो शुभारम्भ कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले सेवाग्राहीको आवश्यकतालाई मध्येनजर गर्दै अन्तरङ्ग सेवाको शुभारम्भ गरिएको बताउनुभयो । साथै उहाँले यो अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्थापित गर्न सके उपचारका लागि चितवन जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । यस अस्पताललाइ प्रदेश अस्पतालको रुपमा र गैँडाकोट स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्थापित गर्न सके गैँडाकोट नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने उहाँको भनाई थियो । नगरप्रमुख पौडेलले कोभिड महामारी लगायत अन्य समयमा समेत अत्यान्तै लगनशिल भएर खटेको भन्दै अस्पतालका डाक्टर र कर्मचारीहरुलार्ई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले हाम्रो देशमा नागरिकले पाउने सेवाअन्तर्गत स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्नेमा त्यहि सेवा झन महंगो हुनु विडम्बना भएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकामा राम्रो अस्पतालको अभावका कारण यहाँका नागरिकले महङ्गो शुल्क तिरेर अर्कै प्रदेशमा जानुपर्ने बाध्यता रहेको बताउँदै अव नगर अस्पतालमा अन्तरङ्ग सेवाको शुभारम्भ संगै विरामी वाहिर जानेको संख्या केहि मात्रामा कम हुने बताउनुभयो ।
यस्तै कार्यक्रममाअस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ११ का वडाध्यक्ष गोविन्द प्रसाद सुबेदीले नगर अस्पतालमा स्तरोन्नति भएको एक बर्षकै अवधिमा धेरै सेवाहरु थप गरिएको बताउनुभयो । उहाँले अस्पताल सञ्चालनका क्रममा धेरै बाधाहरु कायमै रहेको बताउँदै सेवाग्राहिलाई थप सहज गराउनका लागि निकट भविष्यमै हप्तामा दुई दिन विशेषज्ञ सेवा प्रदान गरिने तयारी भएको जानकारी दिनुभयो । अध्यक्ष सुवेदीले विदेशमा रहेका नेपालीहरुको सहयोगमा एम्वुलेन्स खरिद गरेको बताउँदै केहि समय भित्रमै नगरभित्रमा सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी गरेको उल्लेख गर्नुभयो । साथै उहाँले स्वास्थ्य सेवालाई अगाडि बढाउन सहयोग गर्ने विभिन्न संघसंस्था लगायत विदेशमा रहने नेपालीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका अधिकृत डा. दिनेश लामिछानेले अस्पतालमा बिरामीको संख्यामा बृद्धि भएको तर डाक्टर र कर्मचारीहरुको संख्या थप नगरिएकोप्रति गुनासो गर्नुभएको थियो ।
अवसरमा अस्पतालको वाल वार्डमा सुविधा सम्पन्न उपकरण उपलब्ध गराएको भन्दै भिडिआरसीलाई सम्मान गरिएको थियो ।अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका उपाध्यक्ष शेषकान्त देवकोटाले र कार्यक्रम संचालन अस्पतालका प्रमुख हेल्थ एसिस्टेन्ट माधव आचार्यले गर्नुभएको थियो ।
१५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि गएको जेठ १४ गते १२ करोड १५ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो । सोहिअनुरुप ५ वेड पछि थप गर्नेगरि हाललाई १० बेडबाट अन्तरङ्ग सेवा सुरु गर्न लागेको अस्पतालले जनाएको छ ।
तपाइँको प्रतिक्रिया