आर्थिक समृद्धिसँग जोडिने कुरामा सबैको ऐक्यबद्धता हुनु आवश्यक – बरिष्ठ उपाध्यक्ष ढकाल

चितवन, २८ फागुन ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने कुरामा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताउनुभयो ।
सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीय स्थलको रुपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको समेत ढकालले बताउनुभयो । यहाँका सम्भावित सबै प्रकारका उद्योगमा आफ्नो व्यक्तिगत, नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत तथा आफू अध्यक्ष रहेको बैंकको तर्फबाट जोडिन तयार रहेको ढकालले बताउनुभयो । अहिलेको विसम् परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको समेत ढकालको भनाइ थियो । कोभिड–१९ को सङ्क्रमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ । आगामी दिन अझ कठिन हुन सक्नेतर्फ सबै सचेत हुनु जरुरी रहेको भन्दै ढकालले यो अवस्थाबाट पार हुन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सबै पक्षको सहकार्यले अहिलेको अवस्थाबाट चाँडै छुटकारा मिल्ने वातावरण सहज हुने ढकालको भनाइ थियो । उद्योग वाणिज्य सङ्घ चितवनको साधारणसभा उद्घाटनका क्रममा व्यवसायी, पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । साधारणसभाका क्रममा रु एक लाख राशिको हिरालाल सन्तुदेवी उत्कृष्ट युवा उद्यमी पुरस्कारबाट युवा उद्यमी कृष्णप्रसाद सापकोटा पुरस्कृत हुनुभएको छ । त्यस्तै, ५१ हजार रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक कारोबार दैनिकका चितवन सम्वाददाता विप्लव काफ्ले पुरस्कृत हुनुभएको छ भने २५ हजार राशिको उत्कृष्ट कर्मचारी पुरस्कारबाट संघका कर्मचारी राजन गुरुङ पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारी, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । शनिबार साधारणसभाको उद्घाटन भएको थियो भने नयाँ कार्यसमितिका लागि सोमबार मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।
तपाइँको प्रतिक्रिया