गैँडाकोट–१३ मा सिखर शैलीको शिव मन्दिर निर्माण हुँदै

गैँडाकोट, २९ फागुन । नवलपुरको गैँडाकोट नगरपालिका–१३ मा अवस्थित कैलाश सन्यास आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयास थालिएको छ । पुरातात्वीक सभ्यता झल्किने यस स्थलको प्रवद्र्धन गर्न पछिल्लो समय यसको उत्खनन् र निर्माण सुरु गरिएको हो । यहाँका अग्रजहरुको पहलमा नै पुरातत्वविभागले २०७० सालदेखी उत्खनन् सुरु गरेको कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले जानकारी दिनुभयो ।
उत्खनन्पछि पुरातत्व विभागले नै यस स्थानमा पुराना वास्तुकलाका शिलालाई प्रयोग गरेर सिखर शैलीको शिव मन्दिर निर्माण गरिरहेको छ । अध्यक्ष घिमिरेका अनुसार मन्दिर ३५ फिट निर्माण भइसकेको छ । विभागले २०७० देखि २०७२ सम्म गरेको उत्खननका क्रममा यहाँबाट एक हजार ५०० भन्दा बढी पुराना ढुङ्गा निकालेको थियो । हरेक ढुङ्गामा कलात्मक आकृति झल्किने हस्तकला देख्न पाइन्छ ।
२०३३ सालदेखि यस स्थलमा लगातार १० वर्षसम्म धान्यन्चल लगाएको र त्यसबाट संकलन भएको रकमले यस क्षेत्रको विकासका लागि खर्च गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताउनुभयो । अहिले आश्रम परिसरमा साल, सल्लो, आँप, कटहर। रुद्राक्ष लगायत थुप्रै वनस्पति अवलोकन गर्न सकिन्छ ।
पुरातत्व विभागले उत्खननका क्रममा प्राप्त गरेका पुरातात्विक सामग्रीको अध्ययनबाट यो स्थल करिब ८०० वर्ष पुरानो भएको अनुमान गरिएको छ । आश्रममा पौराणिक, धार्मिक एवं कला संस्कृतिले भरिएका वास्तुकलाका महत्वपूर्ण शिला दर्जनौँ सङ्ख्यामा देख्न सकिन्छ ।
तपाइँको प्रतिक्रिया