राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माण अलपत्र

चितवन, २९ फागुन ।
नेपालकै जेठो बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सहकारी बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताउनुभयो । २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट रु पाँच करोड बजेट निकाशा भएर स्थापना गर्न लागिएको राष्ट्रिय सहकारी सङ्ग्रहालयको काम अधुरो नै रहेको छ । सरकारबाट निकाशा गरिएको रु पाँच करोडमा सङ्ग्रहालयको ठूलो हल, साना बैठक कोठा र केही कोठा निर्माण गरिएको भए पनि थप बजेट निकाशा नहुँदा सङ्ग्रहालय निर्माणले मूर्तरुप लिन नसकेको गुरुङले दुखेसो पोख्नुभयो । शुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिएको भन्दै उहाँले थप बजेट नआउँदा राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माणको काम अलपत्र परेको बताउनुभयो ।
बखान सहकारीले निर्माण शुरु गरेको राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माणका लागि थप रु पाँच करोड लाग्ने बताइएको छ । उक्त सङ्ग्रहालयमा फर्निचर सामग्री, बिजुलीबत्ती, भवनको प्लाष्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताउनुभयो । देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइएको गुरुङको भनाइ छ । सबै जिल्लाका कृषिलाई प्राथमिकता दिएर सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइने सहकारीको योजना रहेको छ ।
तपाइँको प्रतिक्रिया