सुकुम्बासीहरुले लालपुर्जा माग्दै बुझाए ज्ञापनपत्र

गैँडाकोट, ३० फागुन । नवलपरासी (बर्दघाट सुस्तापुर्व) का गैँँडाकोट नगरपालिकाका भूमिहीन सुकुम्बासीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । आफुहरुले लामो समयदेखि वसोबास गरि आएको जग्गामा आफ्नो स्वामित्वको अनुभुत गर्न नसकेको भन्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला शाखा नवलपुरको आयोजनामा बुझाइएको ज्ञापनपत्रमा राष्ट्रिय भूमि आयोगसँग तोकिएको स्थानीय तहले सम्झौता नगरेको प्रति ध्यानाकर्षण गराइएको छ । त्यस्तै २०७२ सालमा जारी भएको संविधानमा मौलिक हक अधिकार अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई यथाशीघ्र लालपुर्जा वितरण गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउदै राष्ट्रिय भुमिअधिकार मञ्च नवलपुरकी सदस्य माया ठकुरीले निर्वाचनको बेला जग्गाधनी लालपुर्जा हातहातमा दिन्छौँ भन्दै आश्वासन दिएर अहिले नेताहरु कानमा तेल हालेर बसेको बताउनुभयो । निर्वाचनपश्चात सिंहदरबारको अधिकार गाँउगाँउमा पुग्छ भनेपनि आफुहरुलाई स्थानिय सरकारले कुनै अधिकार नदिएको उहाँको गुनासो छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पौडेलले वडाको सम्पुर्ण तथ्यांक संकलन भइसकेको बताउँदै अव जिल्लामा आयोग गठन गरेपछि मात्र काम अगाडि बढ्ने आश्वासन दिनुभयो । संघिय सरकारले ७७ वटै जिल्लामा सुकुम्बासी आयोग गठन गरेर पहिला गरिएका सबै फार्महरु कार्यन्वयन गर्ने निर्देशन नआउँदा सम्म आफुले केहि गर्न नसक्ने उहाँको भनाई थियो ।
जिल्ला भूमि आयोगको तथ्याङ्क २०७७/७८ अनुसार मध्यविन्दु नगरपालिकामा सात हजार ६२३, कावासोती नगरपालिकामा सात हजार ५४०, गैँडाकोट नगरपालिकामा चार हजार ५११, देवचुली नगरपालिकामा चार हजार ४४३, विनयी त्रिवेणी गाउँपालिकामा चार हजार ४८, हुप्सेकोट गाउँपालिकामा दुई हजार ५८८, बुलिङटार गाउँपालिकामा दुई हजार १४४ र बौदिकाली गाउँपालिकामा ७३८ गरी जिल्लामा जम्मा ३३ हजार ६३५ परिवार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् ।
तपाइँको प्रतिक्रिया