रत्नराज्य लक्ष्मी माविले जित्यो चौथो उप–मेयर कपको उपाधि

गैँडाकोट, १ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैंडाकोट नगरपालिकामा सञ्चालित चौथो उप–मेयर कप अन्तरमावि छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्न राज्य लक्ष्मी माविले जितेको छ ।
गैँडाकोट खेलकुद समिति र गैँडाकोट महिला फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा विजय सामुदायिक शिक्षा सदनलाई १–० ले हराउदै रत्नराज्य लक्ष्मी माविले उपाधि जितेको हो ।
उपाधि चुमेसंगै रत्नराज्य लक्ष्मी माविले रु ४२ हजार संगै सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता टिम विजय सामुदायिक शिक्षा सदनले रु ३७ हजार सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले खेदकुदलाई अत्यन्त महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पहिचान बनाउन सकिने बताउँदै खेलमा सहभागिता जनाएका सबै विद्यार्थीलाई निरन्तर अभ्यास गर्न आग्रह गर्नुभयो । मेयर पौडेलले स्थानिय तह निर्वाचनको पाँच वर्षे कार्यअवधी सकिएको बताउँदै भोलीका दिनमा आफुहरु जनप्रतिनिधीको रुपमा भए या नभएपनि खेलाडिको साथमा सधै रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले छात्राहरुको अन्तरनिर्हीत क्षमतालाई बाहिर ल्याउन र खेलकुदको माध्यमबाट अगाडि बढाउनका लागि प्रत्येक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले अव हुँने स्थानिय तहको निर्वाचनमा आफु उपमेयर पदमा उमेद्वारी नदिने बताउँदै आफु उपमेयर रहेर गरिने कार्यक्रम यो नै अन्तिम रहेको बताउनुभयो । साथै उहाँले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउँनका लागि नगरपालिकामा यस्ता प्रकारका कार्यक्रमलाई सधै निरन्तरता दिनुपर्ने बताउनुभयो ।
गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट महिला फुटवल क्लबकी अध्यक्ष दुर्गा घिमिरेले स्वागत र कार्यक्रम संञ्चालन गैँडाकोट खेलकुद समितिका सदस्य रोशन दर्लामी मगरले गर्नुभएको थियो ।
फागुन २४ गतेदखि सञ्चालन भएको सो प्रतियोगितामा १६ वटा विद्यालय सहभागी भएका थिए ।
तपाइँको प्रतिक्रिया