नवलपुरमा बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु

नवलपुर, २ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । देवचुली–१५ को धौलागिरी चोकमा भएको सो दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।
काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ४३१९ नम्बरको यात्रुबस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख १७२१ नम्बरको ट्रक आज बिहान एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी बसमा सवार रुपन्देहीको खैरेनी सूर्यपुरा गाउँपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डेको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा पाण्डेको मृत्यु भएको गिरीले बताउनुभयो ।
दुर्घटनामा परी घाइते हुनेमा मृतकका ४२ वर्षीय श्रीमान् मणिराम पाण्डे, बस चालक कपिलवस्तु तौलिहवा बाणगङ्गा नगरपालिका–२ का ३६ वर्षीय टीका राना र ट्रक चालक रूपन्देहीको ओमसतिया गाउँपालिका–१ का २७ वर्षीय मोहन थापा रहेको गिरीले बताउनुभयो । घाइतेहरुको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया