धौलागिरी टोलविकास संस्थाको आयोजनामा विविध खेलकुदका कार्यक्रम सम्पन्न

गैँडाकोट, ३ चैत । होली पर्वको अवसर पारेर नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर २ मा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी टोलविकास संस्थाको आयोजनामा संस्थाको आर्थिक वर्ष २०७८/०७९ को बालबालिका युवा तथा महिला लक्षित कार्यक्रम अन्तर्गत विविध खेलकुद कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत १८ वर्ष देखि तल उमेर समुहको पुरुष फुटबल प्रतियोगिता, १९ वर्ष माथि उमेर समुहको पुरुष फुटबल प्रतियोगिता, श्रीमान श्रीमती जोडि रेस, म्युजिकल चेयर महिला र बालबालिका, महिला रिले रेस, स्पोन रेसहरु सञ्चालन भएका थिए । जसअन्तर्गत २ सय भन्दा बढिले सहभागिता जनाएका थिए ।
सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष धुर्वराम पौडेलले खेलको माध्यमबाट अन्तरष्ट्रिय रुपमा पहिचान बनाउन सकिने भन्दै सानो उमेरबाट नै बालबालिकालाई खेलकुदमा अग्रसर बनाउन राज्य तहबाट नै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडिलाई हौसला बढाउन र उत्कृष्ट खेलाडि उत्पादनमा टोलस्तरमा गरिने यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै वडाको तर्फबाट रु १५ हजार आर्थिक सहयोग समेत गर्नुभएको थियो ।
कार्यक्रममा धौलागिरी टोलविकास संस्थाकी अध्यक्ष विष्णुमाया पन्थीले सामाजिक सद्भावको विकास र मित्रताको भावना विकास गर्न खेलकुदका कार्यक्रम आयोजना गरिएको बताँउनुभयो । उहाँले पछिल्लो समय वालवालिकामा खेलकुदप्रतिको रुचि कम हुँदै गएको र अभिभावकले पनि खेललाई त्यती महत्व नदिने हुँदा बालबालिकालाई खेलकुदप्रति अग्रसर गराउन र अभिभावकमा पनि खेलकुदप्रति सकरात्मक भावना ल्याउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सो अवसरमा गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले गैँडाकोट नगरपालिकाबाट उत्कृष्ट खेलाडि उत्पादन गर्नमा यस्ता प्रकारमा कार्यक्रमले महत्पुर्ण भुमिका खेल्ने बताउँदै टोलविकास संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
धौलागिरी टोलविकास संस्थाकी अध्यक्ष विष्णुमाया पन्थिको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गिरीराज लम्सालले कार्यक्रम सञ्चालन र सदस्य शान्ति पोख्रेलले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो । यस टोलविकास संस्थाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
तपाइँको प्रतिक्रिया