गैँडाकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गैँडाकोट, ५ चैत ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नगरपालिकास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७८ शुरु भएको छ । नगरपालिकाको आयोजना तथा स्थानीय शाइनिङ आवासीय माविको संयोजनमा शुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न ३० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको शनिबार गैँडाकोटमा उद्घाटन गर्दै संविधानसभा सदस्य कृष्ण पौडेलले नगरभित्र खेलकुदका गतिविधिको उचित विकास हुन नसकेको बताउनुभयो । सामूहिक प्रयत्नबाट खेलकुदसहित विद्यार्थीको समेत चौतर्फी विकास गर्न सकिने भन्दै पौडेलले विद्यालय खेलकुदलाई तीन तहकै सरकारले प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभयो । खेलकुदमा लाग्ने विद्यार्थी अनुशासित हुने भएकाले उनीहरुको पढाइ पनि राम्रो हुने पौडेलको भनाइ छ । खेलकुदको क्षेत्रलाई आवश्यकताअनुसार महत्व दिन नसकेको पौडेलले बताउनुभयो ।
प्रतियोगिता उद्घाटनका क्रममा नगरप्रमुख छत्रराज पौडेलले निजी विद्यालयले खेलकुदको संयोजन गरेको भन्दै सामुदायिक विद्यालयहरु सहभागी नहुनु दुखद भएको बताउनुभयो । नगरपालिकाले सञ्चालन गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर विजेता भएका खेलाडी मात्रै जिल्लास्तरीय खेलमा भाग लिन पाउने भएकाले खेलकुदलाई गम्भीर रुपमा लिनुपर्ने नगरप्रमुख पौडेलको भनाइ थियो । विद्यालय तहमा हुने खेलकुदले नै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने भएकाले नगरपालिकाको तर्फबाट विद्यालय खेलकुदका लागि सक्दो सहयोग गर्ने नगरप्रमुख पौडेलले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव डा बालकृष्ण चापागाईले नगरपालिकाबाट खेलकुदलाई विशेष महत्वका साथ हेरिएको भन्दै खेलकुदमार्फत आफ्नो व्यक्तित्व विकास गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । खेलकुदको क्षेत्रमा चाहना राख्ने विद्यार्थीहरुलाई उचित प्रशिक्षण दिँदै अब्बल खेलाडी उत्पादनमा सघाउनु विद्यालयको दायित्व भएको चापागाईको भनाइ थियो । लगातार तीन पटकसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता हुने विद्यालयले शिल्ड आफ्नो बनाउने भन्दै उहाँले विद्यार्थीहरुलाई जितको शुभकामना दिनुभयो । नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगितामा भलिबल, फिल्ड एण्ड ट्रयाकका एथलेटिक्स, कबड्डीलगायतका खेलहरु हुने कार्यक्रम संयोजक एवं शाइनिङ आवासीय माविका प्रिन्सिपल लक्ष्मीप्रसाद दवाडीले बताउनुभयो । प्रतियोगिताको समापन चैत ७ गते हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन सत्रमा नगरका विभिन्न राजनीतिक दलका नेताहरुले मन्तव्य राखेका थिए भने प्रतियोगितामा सहभागी विद्यार्थीहरुले मार्गपास गरेका थिए ।
तपाइँको प्रतिक्रिया