गैँडाकोटका युवाहरुलाई ड्राइभिङ तालीम प्रदान

नवलपुर, ८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ ले रोजगारीका अवसर बढाउन सीपमूलक तालीम सञ्चालन गर्दै आएको छ । यसैक्रममा वडा कार्यालयले आजदेखि निःशुल्क ड्राइभिङ तालीम प्रदान गरेको छ ।
वडाले १६ देखि ३५ वर्ष उमेरसमूहका १६ जना युवालाई ड्राइभिङ प्रशिक्षण दिन सुरु गरेको हो । देशमै जटिल बनेको बेरोजगारीको संख्या कम गर्न तालिमपछि सहजै रोजगारी पाइने सीप प्रदान गर्न सुरु गरिएको वडाध्यक्ष नवराज कँडेलले बताउनुभयो । चुनावमा जनताले जिताएलगत्तै वडाभित्रका युवाहरुको सीप विकास गरी स्वरोजगार गराउने प्रतिबद्धता अनुसार कार्यक्रम गरिएको कँडेलको भनाइ छ । युवालक्षित यसअघिका कार्यक्रममा खासै सहभागी नभएपनि ड्राइभिङ तालिममा उल्लेख्य आवेदन परेको र मापदण्डमा परेर छनौट भएका १६ जनालाई पहिलो चरणमा तालिम दिइएको कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो पहिलो चरण हो । हाम्रो कार्यकाल सकिए पनि नयाँ आउने नेतृत्वलाई सीपमूलक तालीमलाई निरन्तरता दिन आग्रह गर्छु । वडाका सबै युवामा सीप विकास गर्ने लक्ष्य हो ।’ ड्राइभिङ सीप रोजगारीका लागि मात्रै नभई मानिसको दैनिक आवश्यकता जस्तै बनेको र सबै प्रकारका रोजगारीमा यसको ठूलो महत्व रहेकाले तालिम दिन थालिएको वडाअध्यक्ष कँडेलले बताउनुभयो । निःशुल्क ड्राइभिङ तालीमको उद्घाटन वडाध्यक्ष कँडेलले गाडी चलाएर गर्नुभएको थियो ।
तालीम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले युवा लक्षित अन्य धेरै कार्यक्रम गरेको बताउँदै ड्राइभिङ सीपले रोजगारी तथा स्वरोजगरका लागि सहयोग पुग्ने बताउनुभयो । तालिममा सहभागीले बीचमा नछाड्न आग्रह गर्दै राम्रोसँग सिकाउन प्रशिक्षकलाई अनुरोध गर्नुभया । वडाले यसअघि पनि लागुपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम, कुक तालिम लगायत सम्पन्न गरिसकेको पौडेलले जानकारी दिनुभयो । उक्त ड्राइभिङ तालीम २६ दिनसम्म सञ्चालन हुनेछ ।
तपाइँको प्रतिक्रिया