फोनिजको केन्द्रीय समितिसँग असहमति जनाउँदै गण्डकीका प्रतिनिधिद्वारा निर्वाचन बहिस्कार

नवलपुर, ८ चैत ।
नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)को केन्द्रीय समितिले एकोहोरो निर्णय गरेर गण्डकी प्रदेशका उम्मेदवारलाई पाखा लगाउन खोजेको भन्दै फोनिज गण्डकीले निर्वाचन बहिस्कार गरेको छ ।
गण्डकी प्रदेशबाट फोनिजको खुला सचिव र अल्पसंख्यक सचिव तथा दुई जना खुला केन्द्रीय सदस्यमा उम्मेदवारी परेको भए पनि उम्मेदवारी फिर्ता लिन केन्द्रीय समितिले दबाब दिएपछि फोनिज गण्डकीले निर्वाचन बहिस्कार गरेको हो । यद्यपि फोनिजको गण्डकी प्रदेशबाट महिला सदस्य र गण्डकी प्रदेश इन्चार्ज निर्विरोध निर्वाचित भइसकेका थिए । फोनिजका एक जना सदस्यकाअनुसार फोनिज गण्डकीले निर्विरोध निर्वाचित दुवैलाई फिर्ता बोलाउँदै नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)सँगको सम्बन्ध विच्छेद गर्दै स्वायत्त हुने घोषणा गरेको छ ।
फोनिजको सातौँ संघीय महाधिवेशन अन्तर्गत सोमबार नै मतदान सुरु हुनुपर्ने भए पनि अधिकांश प्रतिनिधि घर फर्किएपछि ढिला गरी आज मात्रै मतदानको कार्यक्रम राखिएको थियो । “गण्डकी प्रदेशबाट दुई जना सचिव र दुई जना केन्द्रीय सदस्यले उम्मेदवारी दिएको भए पनि सबैलाई दबाब दिएर उम्मेदवारी झिक्न लगाइयो” ती सदस्यले भने, “केन्द्रले एकोहोरो निर्णय गरेका कारण केन्द्रीय समितिसँग हाम्रो कुनै पनि सम्बन्ध नरहनेगरी सम्बन्ध विच्छेद गर्दै हामी स्वायत्त हुन चाहेका हौँ ।”
गण्डकी प्रदेशका प्रतिनिधिहरुको असहमतिका बीच पनि केन्द्रीय कमिटीको निर्वाचन प्रकृया सुरु भएपछि चितवनले समेत उम्मेदवारी फिर्ता लिएर निर्वाचन प्रकृयामा भाग नलिएको ती सदस्यले बताए । फोनिजको केन्द्रीय अध्यक्ष सहित केही पदमा हिजो नै निर्विरोध निर्वाचिन भएका थिए भने बाँकी केही पदमा आज मतदान गरिएको हो ।
तपाइँको प्रतिक्रिया