भरतपुरको पुलचोक गोन्द्राङ सडक विस्तारमा आशलाग्दो प्रगति

चितवन, ९ चैत्र ।
मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काममा सुस्तता भइरहेको अवस्थामा ६ लेनमा विस्तार भइरहेको पुलचोक गोन्द्राङ सडकमा भने आशलाग्दो प्रगति देखिएको छ । भरतपुर महानगरको गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर हेटौँडा खण्डको सो सडकको काम अहिले ३४ प्रतिशत सकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालकाअनुसार विभिन्न कारणले सडक विस्तारमा समस्या आएको भए पनि ३४ प्रतिशत भन्दा बढी प्रगति देखिएको हो । चालू आर्थिक वर्षभित्रमा सडकको ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
सडक विस्तारको काम विसं २०७७ कात्तिक ११ बाट काम सुरु भएको थियो । आगामी वर्षको फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेगरी इन्डो सगुन जेभीसँग सम्झौता भएको सडक विस्तारको काम ६६ प्रतिशत बाँकी छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकोले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । संघीय सरकारको एक अर्ब १२ करोड रुपैयाँ लागतमा विस्तार सुरु भएको सडक २८ महिनाभित्र सक्नुपर्नेगरी सम्झौता भएको थियो ।
सडक निर्माण सुरु भएपछि हालसम्म करिब २६ करोड रुपैयाँ खर्च भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । टिकौली जङ्गल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले २ लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौबीसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा ४ लेन छ । २ लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने खनालले जानकारी दिनुभयो । विद्युत्का पोल सार्न र खानेपानीको पाइप सार्न नै मूल समस्या भएकोले प्राधिकरणसँग समन्वय गरिरहेको इन्जिनियर खनालको भनाइ छ ।
तपाइँको प्रतिक्रिया