गैँडाकोट ४ को कोटेश्वर महादेव मन्दिरका चन्दादाताहरुलाई सम्मान

गैँडाकोट, १२ चैत्र ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका ४ मा रहेको कोटेश्वर महादेव मन्दिरले चन्दादाताहरुलाई सम्मान गरेको छ । मन्दिर निर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई मन्दिरले शनिबार १६औँ साधारणसभाका अवसरमा सम्मान गरेको हो । एक हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म चन्दा सहयोग गर्ने करिब ५०० बढी चन्दादाताहरुलाई मन्दिरले खादा र सम्मानपत्र सहित सम्मान गरेको हो । सो अवसरमा मन्दिरका कोषाध्यक्ष बामदेव घिमिरेले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले गतवर्ष विभिन्न शीर्षकबाट १२ लाख रुपैयाँ आम्दानी भएको उल्लेख गर्दै चार लाख ६१ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । घिमिरेकाअनुसार मन्दिरले विभिन्न बैंकको बचत खातामा तीन लाख ६६ हजार तथा मुद्दती खातामा सात लाख ५० हजार रुपैयाँ राखेको छ ।
त्यस्तै, साधारणसभाका क्रममा संस्थाका सचिव कृष्णप्रसाद पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँकाअनुसार मन्दिरको नियमित पूजाआजका लागि १० लाख रुपैयाँको अक्षयकोष निर्माण भएको छ । अक्षयकोषको रकम बढाउँदै लैजाने भन्दै पराजुलीले अक्षयकोषमा रकम जम्मा गर्न पनि आग्रह गर्नुभएको छ । मन्दिरमा निर्माणको काम धेरै रहेको उल्लेख गर्दै पराजुलीकाअनुसार विभिन्न व्यक्ति, संस्था तथा सरकारी तवरबाट सहयोग भइरहेको बताउनुभयो ।
मन्दिरमा निर्माण गरिएको १०८ शिव लिंगमा टस्ट निर्माण गर्न, साधुसन्त बस्नका लागि आश्रम निर्माण गर्ने, सत्तल बनाउने, किरियापुत्री भवन बनाउने, मन्दिरको सुरक्षाका लागि पर्खाल निर्माण र गेट निर्माणको काम बाँकी रहेको पराजुलीले बताउनुभयो । मन्दिरका अध्यक्ष हरिकृष्ण रिमालको अध्यक्षतामा भएको साधारणसभामा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
तपाइँको प्रतिक्रिया