एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, अध्यक्ष ओलीले के-के भने ?

काठमाडौं, १३ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नक्शालस्थित होटल मेरियटमा आज बिहान प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेट भएको हो ।
भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको एमाले स्थायी कमिटि सदस्य राजन भट्टराईले जनाए । नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए ।
‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन् । नाकाहरु बन्द भएका छन् । नाकाहरु खुल्नु पर्यो । नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरु फर्केर आएका थिए । छिटो उनीहरुलाई फर्काएर पढाई सुचारु गर्नुपर्यो,’ अध्यक्ष ओलीको भनाई उद्वृत गर्दै भट्टराईले भने ।
हुम्लाभन्दा पारी चीनमा करिव पाँच सय जना नेपालीहरु अड्कीएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्कीएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए ।
जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयनतर्फ लैजाने प्रतिवद्धता दोहोर्याएका थिए । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।
तपाइँको प्रतिक्रिया