नवलपुरमा करिब ३३ हजार मतदाता थपिए

गैँडाकोट, १४ चैत्र ।
कान्छो जिल्लाको रुपमा स्थापना भएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा करिब ३३ हजार मतदाता थपिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ३२ हजार ९०१ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्लामा मतदाताको सङ्ख्या दुई लाख ५४ हजार ६१५ जना पुगेका छन् । हाल जिल्लामा एक लाख ३३ हजार ५७३ जना महिला, एक लाख २१ हजार ३८ जना पुरुष तथा चार जना तेस्रो लिङ्गी मतदाता रहेका भुसालले जानकारी दिनुभयो । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए ।
मतदाता बढेसँगै जिल्लामा मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या समेत बढेको भुसालले बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी भुसालकाअनुसार जिल्लामा एउटा मतदान स्थल र ४१ वटा मतदान केन्द्र थपिएका छन् । स्थानीय तह निर्वाचन २०७९ का लागि नवलपुरमा ११३ वटा मतदान स्थल र २९९ वटा मतदान केन्द्र कायम गरिएको भुसालले बताउनुभयो । अघिल्लो निर्वाचनमा यहाँ ११२ मतदानस्थल तथा २५८ मतदान केन्द्र रहेका थिए । जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकामा छन् ।
कावासोतीमा २९ हजार ४३९ महिला र २५ हजार ८८९ पुरुष तथा दुई जना तेस्रो लिङ्गी गरी ५५ हजार ३३० जना मतदाता रहेका भुसालले बताउनुभयो । जिल्लामा सबैभन्दा थोरै मतदाता बौँदीकाली गाउँपालिकामा रहेका छन् । यहाँ पाँच हजार ७१४ महिला तथा ५ हजार ७८३ पुरुष गरी ११ हजार ४९७ जना मतदाता रहेका छन् । बौँदीकालीका ६ वटा मतदानस्थलमा १३ मतदान केन्द्र रहेको छ ।
तपाइँको प्रतिक्रिया