चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

चितवन, १४ चैत्र ।
चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस तथा भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ चितवन शाखाको भवनमा आयोजित स्वास्थ्य परीक्षणमा जिल्लाका १६६ जना पत्रकारहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकारहरुको स्वास्थ्य परीक्षणका लागि रगतको नमूना सङ्कलन गरिएको छ ।
सोमबार रगत उपलब्ध गराएका पत्रकारहरुको चैत १६ गते रगतको रिपोर्ट सहित विशेषज्ञ चिकित्सकद्वारा दोस्रो चरणको स्वास्थ्य परीक्षण गरिने महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । भरतपुर अस्पतालका ल्याब प्रमुख उर्मिला कँडेलका अनुसार संकलित रगतबाट कलेजो, मृगौला, मधुमेह, थाइराईड, एनिमिया, रगतमा हुने संक्रमण लगायतका आठ प्रकारका समस्याहरुको परीक्षण गरिनेछ ।
१६ गते बिहान पत्रकार महासंघ चितवन शाखाको भवनमा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको नेतृत्वमा वरिष्ठ चिकित्सकहरुको समूहद्वारा स्वास्थ्य जाँच गरिनेछ । परीक्षणपछि आवश्यक परेमा औषधि समेत निःशुल्क प्रदान गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । नेपाल औषधि व्यवसायी संघ चितवनले औषधि सहयोग गर्नेछ । जटिल रोग पहिचान भएमा उपचारका लागि सम्बन्धित अस्पतालमा सहजीकरण गरिने महासंघ अधिकारीले बताउनुभयो । पत्रकारहरु स्वस्थ बनेमा सूचना तथा सम्प्रेसणमा थप योगदान गर्न सक्ने भएकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको अधिकारीको भनाइ छ ।
तपाइँको प्रतिक्रिया