गैँडाकोट नगरपालिकाद्वारा कृषकलाई स्प्रेयर मेसिन वितरण

गैँडाकोट, १५ चैत । कृषिमा लागत घटाउँदै उत्पादन बढाउन गैँडाकोट नगरपालिकाले कृषि यान्त्रिकीकरणमा जोड दिएको छ । सोहि बमोजिम मंगलबार नगरपालिकाको कृषि शाखाले व्यवसायिक रुपमा मकै खेती गर्ने नगरका ५० जना कृषकहरुलाई स्प्रेयर वितरण गरेको छ ।
स्प्रेयर वितरण गर्दै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कृषिमा आत्मनिर्भर भन्ने कुरा भनाईमा मात्र सिमित नगराई स्थानिय स्तरको उत्पादन बढाउन र बाहिरी आयात घटाउनमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले यस नगरपालिका धान, मकै, हलेदो र च्याउमा आत्मनिर्भर भइसकेको बताउँदै कृषकको उत्पादनलाई मध्यनजर गर्दै कोसेली घर निर्माण गरिने बताउनुभयो । साथै उहाँले संघबाट विनियोजन भएको रकमलाई वास्तविक किसान पहिचान गरि लगानी गर्न सकेको खण्डमा उत्पादन बृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । कृषकलाई बजेटको चिन्ता नगरी उत्पादनमा जोड दिन उहाँले सबै कृषकलाई आग्रह गर्नुभएको थियो ।
यस्तै गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिका मकैको पकेटक्षेत्रको रुपमा स्थापित भएपनिफौजी किराको प्रकोपले क्षती पुग्न थालेपछि त्यसको रोकथाम तथा उपचारको लागि स्प्रेयर वितरण गरिएको बताउनुभयो ।
गैँडाकोट नगरपालिकाले संघको सशर्त अनुदान अन्तर्गत मकै उत्पादन कार्यक्रमका लागि विनियोजन भएको कुल २५ लाख रुपैयाँ रकम मध्येबाट नगरको वडा नं. ६, ७ र ९ का ५० जना कृषकलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर वितरण गरेको हो । १६ लिटरको स्प्रेयरलाई बजारमुल्य ३६ सय पर्न गएको छ । त्यसलाई ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको गण्डकी मकै उत्पादक कृषक समुहका अध्यक्ष नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
साथै उहाँले सामुहिक रुपमा मकै खेती गर्ने कृषकले साइलेस मेसिन र ट्याक्टर खरिद गर्न चाहेको खण्डमा गैैँडाकोट कृषी शाखाले गण्डकी मकै उत्पादक कृषक समुह मार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँने बताउँदै इच्छुकले सम्पर्क गर्नसमेत आह्वान गर्नुभएको छ । नगरपालिकाले नगरपालिकाको वडा नम्बर ६ का १५ जना, ७ का २० जना र ९ का १५ जना कृषकलाई स्प्रेयर मेसिन वितरण गरेको हो ।
तपाइँको प्रतिक्रिया