पल शाहद्वारा उच्च अदालत पोखरामा रिट निवेदन दायर,तारेखमा रिहा गर्न माग

पोखरा, १५ चैत । एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।
आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेका उनले बताए ।
अभिनेता पल शाहले म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शाह फागुन १५ गते पक्राउ परेका थिए ।
जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
तपाइँको प्रतिक्रिया