नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउन प्रतिबद्ध छौँ : नगरप्रमुख पौडेल

नवलपुर, १५ चैत । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यअनुसार काम भइरहेको बताउनुभएको छ ।
नमूना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ साधारणसभाको उद्घाटन गर्दै पौडेलले नगरवासीलाई स्वच्छ पानी उपलब्ध गराउन संघीय सरकारसँग कुरा भइरहेको बताउनुभएको हो । नगरका विभिन्न वडामा संघीय सरकारको अनुदानमा स्वच्छ खानेपानी योजना सञ्चालनमा आइसकेका र केही योजनाहरु निर्माणाधिन अवस्थामा रहेका भन्दै नगरप्रमुख पौडेलले सतहको पानी उपयोग गर्नेगरी छलफल अगाडि बढाइएको बताउनुभयो ।
गैँडाकोट ६ मा रहेको नमूना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वडा नम्बर ६, ७, ८ र ९ मा खानेपानी सुविधा पु¥याउँदै आएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सुवास चापागाईले आफूहरुले एक हजार ७९० जना उपभोक्तालाई स्वच्छ खानेपानी वितरण गरहेको उल्लेख गर्दै सेवा विस्तारको क्रममा रहेको बताउनुभयो । हालसम्म संस्थाले ९१ किलोमिटर खानेपानीको पाइप विस्तार गरिसकेको भन्दै उहाँले गरिब उपभोक्तालाई निःशुल्क रुपमा धारा जडान गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव जयराम कँडेलले ३ वटा बोरिङबाट पानी वितरण गरिएको बताउनुभयो । त्यस्तै, उपभोक्ताले महसुल भुक्तान गरेपश्चात एसएमएसबाट जानकारी प्रदान गर्ने सेवाको समेत सुभारम्भ गरिएको कँडेलको भनाइ छ । कार्यक्रममा कोषाध्यक्ष इन्द्रमणि चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीको महसुल संकलन गर्न घुम्ती काउण्टर सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समिति संयोजक गोविन्दप्रसाद सापकोटाले प्रविधिको प्रयोग गर्दै लेखालाई पारदर्शी बनाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका उपभोक्ताका लागि किस्ताबन्दीमा शुल्क बुझाउने गरी धारा जडान गरिएको भन्दै सापकोटाले पानी परीक्षण ल्याब स्थापना भएकोले त्यसलाई सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । नमूना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुवास चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता गिरी वनले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया