चुनावमा दुरुपयोग नहोस् भनेर कार्यकाल नसकिँदै मेयरले फिर्ता गरे सरकारी गाडी

विराटनगर, १६ चैत ।
स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला तेह्रथुमको म्याङलुङ नगरपालिकाका नगर प्रमुख (मेयर) ले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । नगर प्रमुख सञ्जयकुमार तुम्वाहाङ्फेले को१झ ५८३ नम्बरको सरकारी गाडी प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई, लेखा अधिकृत गोपालकृष्ण लिम्बू र इन्जिनीयर उमेश शाहलाई फिर्ता गरेका हुन् ।
स्थानीय निर्वाचन–२०७९ को आचारसंहितालाई मध्यनजर गर्दै गाडी फिर्ता गरेको मेयर तुम्वाहाङ्फेले बताए । चुनावको समयमा सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको उनले बताए । ‘नगरका कामभन्दा बढी अब चुनावी अभियानमा खट्नुपर्छ,’ उनले भने, ‘जनताले तिरेको करको दुरुपयोग नहोस् भन्ने लागेर फिर्ता गरेको हुँ ।’ अब चुनावभर भाडाको गाडी प्रयोग गर्ने उनले बताए ।
उनी गत चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वैशाख ३० गते हुने चुनावमा पनि मेयरमा आफ्नो दाबी रहेको उनले बताए ।
तपाइँको प्रतिक्रिया