उपाधिका लागि नवलपुर र मकवानपुर भिड्ने

चितवन, १६ चैत ।
चितवनमा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । बुधबार भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।
नारायणी एडभरटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा भरतपुर–१५ रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा मकवानपुरले चितवनलाई ४४ रनले पराजित गरेको हो । २२२ रनको लक्ष्य पछ्याएको चितवन ३३.४ ओभरमा १७७ रन बनाउँदै अलआउट भएपछि मकवानपुर उपाधि नजिक पुगेको हो । चितवनका लागि विकल गुप्ताले सर्वाधिक ४८ रन बनाउनुभयो भने स्वप्निल अधिकारीले ३४ रन बनाउनुभयो ।
मकवानपुरका लागि रिजन ढकालले ३, रामनरेश गिरी, असिम श्रेष्ठ र विपुल खनालले समान २÷२ विकेट लिनुभयो भने शुब कंशकारले एक विकेट लिनुभयो । खेलमा मकवानपुरका रामनरेश गिरी प्लेयर अफ दी म्याच चुनिनुभयो । उहाँलाई उद्योग वाणिज्य संघ चितवनका सदस्य एवं किराना व्यवसायी संघ चितवनका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले नगद र उपहार प्रदान गर्नुभएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४१.१ ओभरमा २२१ रन बनाउँदै अलआउट भयो । मकवानपुरका लागि शुब कंशकारले ४१, विशाल फुँयालले ३६, आकाश घिमिरेले ३१ र रामनरेश गिरीले २५ रन बनाउनुभयो । चितवनका लागि गौतम केसीले ३, प्रशान्त महत, कृजन गुरुङ र संघर्ष पौडेलले समान २÷२ विकेट लिनुभयो भने दिपेश श्रेष्ठले एक विकेट लिनुभयो ।
यसअघि पहिलो खेलमा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । चितवन भने मकवानपुर र नवलपुरसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार बिहान ९ बजे रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
तपाइँको प्रतिक्रिया