गैँडाकाेटका नगरप्रमुख पौडेलद्वारा ढोडेनीमा बाख्रा वितरण

नवलपुर, १७ चैत ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नम्बर ३ मा बाख्रा वितरण गरेको छ । बाख्रा पालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो ।
गैँडाकोटको वडा नम्बर ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको बताउनुभयो । मासुको पकेट क्षेत्रको रुपमा विकास गर्दै स्थानीयको आयआर्जन वृद्धिका लागि नगरपालिकाले बाख्रा तथा बोका वितरण गरेको उहाँले बताउनुभयो । नगरपालिकाले यसअघि नै समूह स्थापना गरेर समूहका सदस्यहरुलाई माउ बाख्रा तथा समूहमा रहने गरी बोका वितरण गरेको हो । उन्नत जातको बाख्रा वितरण पछि गैँडाकोटको वडा नम्बर ३ मा बाख्राको प्रवर्द्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताउनुभयो ।
सो कार्यक्रममा गैँडाकोट नगरपालिका पशु सेवा शाखाका प्रमुख डा प्रमोदकुमार पौडेलले यस अघि ढोडेनीमा समूह गठन गरेर स्थानीयको आवश्यकताअनुसार बाख्रा वितरण गरिएको बताउनुभयो । समूहमा आवद्ध सबैलाई बाख्रापालन सम्बन्धी तालीम प्रदान गरिएको डा पौडेलको भनाइ थियो । बोयर (५० प्रतिशत) जातको बोका ब्याडका लागि चार वटा समूहलाई तथा ४८ वटा बाख्रा समूहमा आवद्ध महिला सदस्यहरुलाई वितरण गरिएको डा पौडेलको भनाइ थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३ का वडाअध्यक्ष शिवकान्त तिवारीसहितको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया