गैँडाकोटमा ‘शिखरखजुराव’ शैलीमा हनुमान मन्दिर निर्माण

गैँडाकोट, १९ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा ‘शिखरखजुराव’ शैलीमा कलात्मक एवं भव्य श्री हनुमान मन्दिर निर्माण गरिएको छ । करिब साढे दुई वर्षको अवधिमा रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो ।
मन्दिरको निर्माण सकिएसँगै यही फागुन २७ देखि वैशाख ३ गतेसम्म हनुमान मन्दिरको समुद्घाटन, मूर्ति प्राणप्रतिष्ठा तथा साङ्ग विराट् ज्ञानमहायज्ञ महामहोत्सव–२०७८ हुने भएको छ । महायज्ञ मूल आयोजक समितिका महासचिव पिताम्बर सापकोटाले विसं २०४२ सालदेखि पूजा अर्चना गरिदै आएकोमा हाल ४२ फुट लम्बाई, ४२ फुट चौडाई र ६३ फुट उचाई भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो ।
पवित्र तीर्थस्थल देवघाटधामस्थित हरिहर सन्न्यास आश्रम परमानन्द–संस्कृत गुरुकुलम्का पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले मन्दिरको उद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । महायज्ञमा डा. बलराम ब्रह्मचारीज्यूले कथा प्रवचन गर्ने बताउनुभयो । मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले सुरुआती अवस्थामा रु एक करोड पाँच लाखको लागतको नक्साङ्कन गरिएपनि पछि सबैको राय अनुरुप करिब रु तीन करोड लागतमा मन्दिर लगायतका संरचना निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले अहिले ऋण नरहेको जनाउँदै मन्दिर व्यवस्थापनका केही काम बाँकी रहेको बताउनुभयो ।
मन्दिरमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत पर्यटकहरु आउने गरेको उल्लेख गर्दै सापकोटाले मन्दिर परिसरमा १०० जना क्षमताको धर्मशाला निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो । महामहोत्सवको तयारीका लागि महायज्ञ मूल समिति र विभिन्न कार्यसम्पादनका लागि २३ वटा उप समिति गठन गरिएको जनाउँदै प्रचारप्रसार समितिका संयोजक ज्ञानप्रसाद खनालले महायज्ञ सफल बनाउन सबैलाई आह्वान गर्नुभयो ।गैँडाकोट–९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले यसलाई धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गरी गैँडाकोटको धार्मिक महत्वलाई प्रवद्र्धन गरिने बताउनुभयो । देशकै मध्ये भागमा अवस्थित यो मन्दिर पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने एकमात्र भव्य हुनमान मन्दिर रहेकोले यो पर्यटकीय गन्तव्य रहेको उहाँको भनाइ थियो ।
मन्दिरका संरक्षक पवनकुमार अग्रवालले मन्दिरको नियमित पूजासँगै नित्यकर्म सञ्चालनका लागि रु एक करोड बराबरको अक्षयकोष निर्माण गर्नुपर्नेमा जोड दिँदै मसिक रुपमा रकम उपलब्ध गराउने बताउनुभयो ।
सङ्कटमोचन श्रीहनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्बल रेलिङ, मार्बलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत् व्यवस्थापन र रङ्रोगन यस मन्दिरका दर्शनीय पक्षहरु हुन् । श्री हनुमान मन्दिर समिति चक्रघाटको शुभसङ्कल्प, तीनै तहको सरकार तथा जनसहभागितामा शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो ।
मन्दिर निर्माणका लागि चन्दाबाट रु एक करोड ६४ लाख, पटक पटक गरी गैँडाकोट नगरपालिकाबाट रु ३१ लाख, गैँडाकोट–९ नं वडा कार्यालयबाट रु दुई लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट रु १५ लाख, प्रदेश सांसद कोषबाट रु पाँ लाख, सङ्घीय सांसद कोषबाट रु १० लाख, मारवाडी सेवा केन्द्र नारायणगढबाट रु २१ लाख तथा नारायणी सामूदायिक वनबाट रु सात लाख लगायत विभिन्न दाताले सहयोग गरेका छन् ।
शनिबार मन्दिर प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले यहि चैत्र २७ गते रामनवमीदेखी वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म महामहोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो ।
तपाइँको प्रतिक्रिया