देशभरका ३० हजारभन्दा बढी सहकारीहरुले मनाए ‘राष्ट्रिय सहकारी दिवस’

चितवन, २० चैत । चितवनको भरतपुर–१९ शारदानगरस्थित बखान सहकारी संस्थाले ६५औँ स्थापना दिवस मनाइरहँदा देशभरका ३० हजारभन्दा बढी सहकारीहरुले आइतबार ‘राष्ट्रिय सहकारी दिवस’ मनाएका छन् । आजभन्दा ६५ वर्ष अघि चितवनको शारदानगरमा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो ।
सहकार्य गरेर काम गर्न सकिन्छ भने सहकारी किन स्थापना नगर्ने भनेर बखानसिंह गुरूङसहित ६० जनाबाट प्रतिव्यक्ति १० र मसलन्द खर्च भनेर १ रुपैयाँ थप गरी ११ रुपैयाँ हरेक महिना उठाउन थालियो । सुरुमा ६०० रुपैयाँ कुल पुँजीबाट बखान सहकारी स्थापना भयो । २०१३ चैत २० गते सहकारी स्थापना गरिए पनि पञ्चायत कालमा सहकारी संस्था खासै स्थापना भएनन् । २०४६ सालको जनआन्दोलनपछि भने देशमा सहकारीको लहर नै सुरु भयो । अहिले सञ्चालनमा रहेका सहकारीहरुसँग एक लाखसम्म सदस्य तथा अर्बाँै रुपैयाँ पुँजी छ । सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ । सहकारीमा लागेर साना किसानहरुले उल्लेखनीय प्रगति गरेका छन् । सहकारीबाट लिएको ऋणमार्फत व्यवसाय सफल हुँदै जाँदा काम गर्न र ऋण तिर्न समेत सहज भएको सहकारीका सदस्यहरु बताउँछन् ।
नेपालमा सहकारीको उद्गमस्थल चितवन भएपनि सहकारीको उर्वर भूमिको रुपमा भने नवलपुरको गैँडाकोट रहेको छ । नेपालकै ठूला सहकारी संस्थाहरु गैँडाकोटमा छन् । नेपालकै दोस्रो ठूलो सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका ठूला सहकारी संस्थाहरु गैँडाकोटमा छन् । नेपालमा भएका सहकारी संस्थामध्ये नवलपुर जिल्लामा करिब २०० को हाराहारीमा सहकारी संस्थाहरु छन् । यहाँ सञ्चालित सहकारी संस्थाहरु विभिन्न नारा लिएर आफ्ना सदस्यहरुलाई सेवा पु¥याउँदै आइरहेका छन् । गर्वदेखि स्वर्गसम्मका योजनाहरु सहकारी संस्थाहरुले अगाडि सारेका छन् । सहकारी संस्थाहरुले वित्तीय र गैरवित्तीय क्षेत्रमा काम गर्दै आइरहेका छन् ।
सहकारीले आफ्ना सदस्यहरूलाई सामूहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातावरण कायम हुन गई सामाजिक विकासको गतिलाई टेवा पुग्दछ । उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । सहकारी संस्थाहरु नीति, विधि र पद्धतीअनुसार सञ्चालन हुँदै गएको अवस्थामा सफल हुन्छन् ।
सहकारीका सदस्यहरूलाई जागरूक र उद्यमशील बनाउन राज्य र सहकारी अभियान दुवैले ध्यान दिनुपर्छ । एकले अर्कोलाई दोष दिएर उम्कने परिपाटीको अन्त हुनुपर्दछ । हामी सबै सरोकारवालाहरूले सहकारिताप्रति विश्वासको वातावरण सृजना गर्दै यस क्षेत्रमा प्राप्त उपलब्धिको संवद्र्धन तथा सहकारी आन्दोलनको स्वस्थ विकासलाई प्रोत्साहित गर्नु नै आजको आवश्यकता हो ।
तपाइँको प्रतिक्रिया