एमाले एक्लै चुनाव लड्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

चितवन, २१ चैत ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले कुनै पनि गठबन्धनको पक्षमा नभएको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैनौँ ।”
स्थानीय आवश्यकताअनुसार सहमति हुन सक्ने उल्लेख गर्दै उहाँले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभयो । “स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, त्यो आज मात्रै होइन” वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “२०४८ को संसदीय निर्वाचनमा पनि लोकल एडजस्टमेन्टका अभ्यासहरु हामीले गर्ने कोसिस गरेका थियौँ ।” उहाँले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पार्नुभयो ।
“हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनको पक्षमा निर्वाचन लड्दैनौँ” पोखरेलले भन्नुभयो । उहाँले विचार र कामको आधारमा निर्वाचन हुने भएकाले पाँच गठबन्धन आएपनि एमाले एक्लै काफी हुने दाबी गर्नुभयो । एमालेले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने आफूहरुको प्रयत्न हुने पोखरेलले जिकिर गर्नुभयो ।
सेटिङमा चलेको विषाक्त छालले निर्वाचन आयोगलाई पनि प्रभावित गर्न सक्ने भन्दै उहाँले संवेदनशील विषयमा निर्णय गर्दा पनि आयोगले दलहरुसँग छलफल नै नगरेको बताउनुभयो । “उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन रे । केका लागि दुई दिन चाहियो ?”, उहाँले भन्नुभयो, “कहीँ नभएको नियम यहाँ लगाइँदैछ ।” निर्वाचन आयोगले पनि दलहरुसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उहाँको भनाइ छ ।
प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्रसँग गठबन्धन नहुने दाबी गर्नुभयो । फरक प्रसङ्गमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको उहाँले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया