बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, २२ चैत । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गरेर स्वदेश फर्किएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।
आजको बैठकमा आगामी स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे थप छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन् ।
यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो । आजको बैठकमा त्यससम्बन्धी रिपोर्टिङ प्रतिवेदन आउने र त्यसका आधारमा चुनावी मोडालिटी तयार हुने छ । तालमेलको स्पष्ट खाका नबनिसकेका कारण जिल्लास्तरबाट भइरहेका गठबन्धन गर्ने निर्णय कार्यान्वयनमा अघि बढ्न सकेको छैन ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।
तपाइँको प्रतिक्रिया