बढ्दो गर्मी मौसमसँगै चितवन तथा नवलपुरका अस्पतालमा बिरामीको चाप बढ्यो

गैँडाकोट, २३ चैत । बढ्दो गर्मी मौसमसँगै चितवन तथा नवलपुरका अस्पतालमा बिरामीको चाप समेत बढ्न थालेको छ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसियन डाक्टर गोविन्द कँडेलले गर्मी महिना सुरु भएसँगै खाना वा पानीमा जीवाणुको संक्रमणले गर्दा बिरामी भएर आउनेहरुको संख्या बढ्न थालेको बताउनुभयो ।
गर्मी बढेसँगै वाक–वाक लाग्ने तथा बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, ज्वरो आउने जस्ता समस्या लिएर बिरामीहरु अस्पताल आउन थालेका कँडेलको भनाइ छ । गर्मी मौसममा तापक्रम बढ्ने, हावाहुरी चल्नेलगायतका कारण अहिले सरुवा रोगहरु, डेंगो ज्वरो, मलेरिया, हात्तीपाइले लगायतका बिरामीहरु धेरै आउने गरेको डा कँडेल बताउनुहुन्छ ।
जाडोबाट गर्मीतर्फ जाँदै गर्दा गर्मीमा पनि सामान्यतया रुघाखोकी, जण्डिसको समस्या, पानीको कमी भएर जलविनियोजन हुने, रक्तचापमा परिवर्तन आउने तथा सरुवा रोगहरुको प्रकोप फैलन गर्दछ । गर्मी समयमा दूषित खाना र पानीकै कारण अधिकांश रोगहरु लाग्ने गरेको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बताउनुहुन्छ । दूषित तथा सडेगलेका खानपिनबाट टाढै रहने, अनावश्यक काममा बाहिर ननिस्कने लगायतका सावधानी अपनाउन सकेको खण्डमा अधिकांश रोगबाट बच्न सकिने अधिकारीको भनाइ छ । चुनावको माहौल बढेका कारण अझै बढी स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने डा. अधिकारीको सुझाव छ ।
दूषित खानपिनबाट झाडाबान्ता पखला अत्यधिक हुन्छ । दीर्घ रोगीहरु धुलो धुवाँको कारण झनै समस्यामा पर्छन् । गर्मीमा बिरामी मुख्य कारक/स्रोत संक्रमित पानी तथा खानेकुराको उपभोग गर्नु नै हो । त्यसैले पनि सुरक्षित पानी, खानेकुरा र व्यक्तिगत सरसफाइमा ध्यान दिन सके बिरामी हुनबाट सहजै बच्न सकिने चिकित्सकहरुको भनाइ छ ।
मानिसहरू लामो समयको बन्दाबन्दीपछि विस्तारै पूर्ववत् दैनिकीमा फर्कंदै गर्दा घर बाहिर घुम्ने र खाने प्रचलन पनि बढ्दै गएको छ । परिवारमा होस् वा साथीसँग छोटो भेटघाटमा वा कुनै कारणले घर बाहिर रहँदा रेष्टुराँ वा सडकमा पाइने खानेकुराप्रति आकर्षित हुने वा खाने प्रचलन पछिल्लो समयमा बढ्दो क्रममा देखिन्छ । तर, धेरैले गर्मी महिनामा देखिने मौसमी संक्रामक रोगहरूको बारेमा भने खासै ध्यान दिएको भने पाइँदैन ।
तपाइँको प्रतिक्रिया