गुल्मीमा पनि चुनावी तालमेल गर्न सत्ता गठबन्धन सहमत, १२ मध्ये ८ मा कांग्रेस र ४ मा माओवादीले नेतृत्व गर्ने

गुल्मी, २४ चैत ।
गुल्मीमा स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच सहमति भएको छ। गुल्मीका १२ स्थानीय तहमध्ये ८ वटामा नेपाली कांग्रेसले नेतृत्व गर्ने र बाँकी ४ वटामा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको कांग्रेस सभापति खिलध्वज पन्थीले बताए।
गुल्मीमा बसेको गठबन्धनको बैठकले रेसुंगा र मुसिकोट नगरपालिका, इस्मा, गुल्मी दरबार, सत्यवती, कालीगण्डकी, छत्रकोट गाउँपालिकामा कांग्रेसले नेतृत्व गर्ने निर्णय गरेको छ।
यस्तै मालिका, रुरु र चन्द्रकोटमा माओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय भएको छ। बाँकी रहेका धुर्कोट र मदानेमा भने सहमति जुट्न बाँकी छ। माओवादीले धुर्कोट आफूले पाउनुपर्ने दाबी गरेको छ भने कांग्रेसले धुर्कोट आफूलाई छाडेर मदाने लिन भनेको छ।
गुल्मीका स्थानीय तहकाे नेतृत्वमा कांग्रेस र माओवादीबीच भागबन्डा भए पनि उपप्रमुख र उपाध्यक्षमा भने यसअघिको निर्वाचनको मतभारअनुसार र आवश्यकताका आधारमा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच भागबन्डा हुने कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले जानकारी दिए।
यसअघिको निर्वाचनमा रेसुङ्गा र मुसिकोट नगरपालिका, रुरु, छत्रकोट, इस्मा, मदाने र मालिका गाउँपालिकामा एमालेले जितेको थियो। गुल्मीदरबार, चन्द्रकोट, सत्यवती र कालीगण्डकी गाउँपालिकामा कांग्रेसले जितेको थियो। धुर्कोटमा माओवादीले जितेको थियो।
तपाइँको प्रतिक्रिया