स्थानीय निर्वाचनमा एक बुथ दुई सय युथ हुन्छन् : पोलिटब्युरो सदस्य बस्नेत

नवलपुर, २४ चैत । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीले स्थानीय तह निर्वाचनमा ‘एक बुथ २०० युथ’ अभियानलाई अघि सारेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ गैैँडाकोट नगर कमिटीको चौथो नगर अधिवेशनलाई आज सम्बोधन गर्दै बस्नेतले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउनका लागि अभियान अघि सारिएको बताउनुभएको हो ।
उहाँले नेकपा एमालेले एक घर एक सदस्यता, एक टोल एक कमिटी अभियान जारी गरेको भन्दै निर्वाचनका लागि भने एक बुथ दुई सय युथ अभियान सञ्चालन गरिने बताउनुभयो । “अहिले हाम्रो अभियान व्यापकरुपमा देशभर सञ्चालनमा छ” बस्नेतले भन्नुभयो, “आगामी निर्वाचनमा बुथ कब्जा गर्ने, मतपत्र च्यात्ने र जित्ने दिवा स्वप्न कसैले पनि नदेखे हुन्छ, यसका लागि एमाले कडारुपमा प्रस्तुत हुँदैछ ।” गठबन्धनका दलहरुले निर्वाचन सार्नका लागि षड्यन्त्र गरिरहेका भन्दै बस्नेतले त्यस्तो षड्यन्त्र कतै भयो भने एमाले सडकमा उत्रिएर सशक्त ढङ्गले लड्ने बताउनुभयो ।
एमालेले देशव्यापी रुपमा निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेको भन्दै उहाँले यो अभियानमा एमाले एक्लै कुदेको बताउनुभयो । “चुनावी अभियानमा हामी एक्लै कुदिरहेका छौँ” बस्नेतले भन्नुभयो, एमालेसँग अन्य दलहरुले प्रतिस्पर्धा नै गर्न सकेका छैनन् ।” पाँद दलीय गठबन्धन मिलेर एमालेलाई हराउँछौँ भन्नेतर्फ लागेका भन्दै सबै दलहरुका विरुद्ध निर्वाचन लड्न एमाले एक्लै काफी रहेको बस्नेतले बताउनुभयो ।
केही नेताहरुले एमाले राजमार्गमा बालियो छ तिनीहरुलाई हराउनुपर्छ भनेको प्रसङ्ग निकाल्दै बस्नेतले भन्नुभयो, “राजमार्गमा मात्रै होइन मधेशको गाउँ र कर्णालीको विकटमा पनि एमाले बलियो छ, बलियो एमालेले घाइते बैशाखी टेकेर आउने गठबन्धनले सजिलै हराउन सक्छ ।”
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले एमालेको निर्वाचन केन्द्रित कार्यक्रम आफ्ना उम्मेदवारलाई जिताएर मात्रै रोकिने बताउनुभयो । एमालेका उम्मेदवारलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने भन्दै पौडेलले अहिले एमाले विरुद्ध विरोधीहरुले कुप्रचार गरिरहेका बताउनुभयो । सरकारबाट बाहिरिएपछि एमाले अझ बढी सशक्त भएर अगाडि बढेको उल्लेख गर्दै पौडेलले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत पदमा जित हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नवीन अधिकारी, जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डे, नगर अध्यक्ष षडानन्द लामिछाने, गैँडाकोट १४ की वडाध्यक्ष कोकिशरा राना, नेकपा एमाले जिल्ला कमिटी सदस्य मदन गिरीलगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलहरु परित्याग गरेर एमाले प्रवेश गरेका १७३ जनालाई पोलिटब्युरो सदस्य बस्नेत सहितका नेताहरुले एमालेमा स्वागत गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय युवा संघ गैँडाकोट नगर अध्यक्ष विनोद कँडेलको अध्यक्षतामा भएको थियो ।
तपाइँको प्रतिक्रिया