गुरुङहरुको लिपि लोपोन्मुख अवस्थामा – गण्डकी प्रदेश प्रमुख गुरुङ

चितवन, २८ चैत्र ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानको आधारमा राज्य निर्माण गर्न आफ्नो भाषा, लिपि, संस्कृति, साहित्य हुनुपर्ने बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को ऐतिहासिक चौथो राष्ट्रिय महाधिवेशनको सोमबार चितवनको भरतपुरमा उद्घाटन गर्दै गुरुङले आफ्नो उन्नतीका लागि अरुलाई असर नपर्ने गरी काम गर्नुपर्ने बताउनुभएको हो । अहिले मधेश प्रदेशले आफ्नो पहिचानको आधारमा प्रदेशको नामाकरण गरेको उल्लेख गर्दै गुरुङले त्यहाँ उनीहरुको भाषा, साहित्य, लिपि, संस्कृति भए पनि गुरुङहरुको लिपि लोपोन्मुख अवस्थामा पुगिसकेको बताउनुभयो ।
तमुवान प्रदेशको नारा दिएर मात्रै नहुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले पहिले भाषा, साहित्य, लिपि, संस्कृतिसहितको पूर्वाधार तयार पार्नुपर्ने बताउनुभयो । पहिला हामी सबै नेपाली भएर मात्रै त्यसपछि गुरुङ भएको भन्ने कुरा बिर्सन नहुने भन्दै प्रदेश प्रमुख गुरुङले जुनसुकै कुरा गर्दा पनि संवैधानिकरुपबाट गर्नुपर्ने बताउनुभयो । जनताको ठूलो त्याग र बलिदानबाट अहिलेको व्यवस्था आएको उल्लेख गर्दै उहाँले मुलुकमा धेरै जाति र भाषा भएकाले ती ठाउँबाट कुसल र प्रतिष्पर्धाको माध्यमबाट आफ्नो भाषिक, धार्मिक र सांस्कृति विकासमा अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले तमु समुदाय समृद्धितर्फ जाँदै गरेको बताउनुभयो । गण्डकी प्रदेशको पूर्व मुख्यमन्त्री तथा अहिलेको प्रदेश प्रमुख गुरुङ समुदायबाट बनिसकेको उल्लेख गर्दै उहाँले त्यसकारण पनि गुरुङ समुदाय समृद्धितर्फ जाँदै गरेको बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय तीन वटै सरकारमा तमुहरुको उल्लेख्य सहभागिता रहेको उहाँको भनाइ थियो । सबै जातजातिको अधिकार सुनिश्चित गर्नका लागि सरकारले आदिवासी जनजाति आयोग गठन गरेको भन्दै अध्यक्ष मगरले आयोगमा रहेका ५ जना मात्रै यथेष्ट नहुने बताउनुभयो ।
नीति, नियम निर्माण गर्ने काम आयोगको भएको उल्लेख गर्दै मगरले राज्यको सबै निकायमा आदिवासी जनजातिको समानुपातिक सहभागिता गराउनेबारे छलफल भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पा, तमू प्ये ल्हु सङ्घ नेपालका अध्यक्ष हितकाजी गुरुङ, तमू धीं नेपालका अध्यक्ष हुम गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । सोमबार सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै चितवन घोषणापत्र जारी गर्नेछ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला कार्यसमितिका तर्फबाट गणेश गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया