मुकुन्दसेन मिडियाको समाचार प्रमुखमा कँडेल

गैँडाकोट, १ वैशाख । मुकुन्दसेन मिडिया प्रा.लि.द्वारा संचालित मुकुन्दसेन टेलिभिजन र मुकुन्दसेन टिभी डट कमको समाचार प्रमुखमा वरिष्ठ पत्रकार सूर्यप्रकाश कँडेल नियुक्त हुनुभएको छ ।
२५ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता पेशा अँगाल्दै आउनु भएका कँडेललाई विहीबार मुकुन्दसेन मिडियाले टेलिभिजन र अनलाइन दुवैैको समाचार प्रमुखमा नियुक्त गरेको हो ।
आफ्नो सम्पादकीय नेतृत्वमा मुकुन्दसेन टेलिभिजन र अनलाइनलाई नवलपुरमा मात्र नभई गण्डकी प्रदेशमै उत्कृष्ट बनाउने लक्ष्य रहेको समाचार प्रमुख कँडेलले बताउनु भएको छ ।
२०५५ साल असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका कंडेल पछिल्लो समय कायाकैरन दैनिकका प्रधान सम्पादक समेत हुनुहुन्छ । अन्नपूर्ण पोष्ट दैनिकमा १४ वर्षसम्म चितवन सम्वाददाताका रुपमा काम गरिसक्नुभएका कँडेलले चितवन पोष्ट दैनिक लगायत आधा दर्जन मिडियामा सम्पादकीय टिममा रहेर काम गरिसक्नुभएको छ ।
२०७० साल भदौ १ गतेबाट संचालनमा आएको मुकुन्दसेन टेलिभिजन तीन वर्षयता फूल एचडी प्रविधिमा प्रसारण हुँदै आइरहेको छ । विभिन्न केबुल नेटवर्क, एमएसओ र अनलाइन एप्लीकेसनमार्फत मुकुन्दसेन टेलिभिजनको प्रसारण हेर्न सकिन्छ । मुकुन्दसेनटिभी डट कम लगअन गरी अनलाइन हेर्न सकिन्छ ।
मुकुन्दसेन मिडिया प्रा.लि.का अध्यक्ष एवं प्रबन्ध निर्देशक इतराज गुरुङ (असिफ) ले पत्रकार कँडेलको सम्पादकीय नेतृत्वमा मुकुन्दसेन टेलिभिजन र अनलाइनले नयाँ उचाई प्राप्त गर्नेमा आफू आशावादी रहेको बताउनु भयो । उहाँका अनुसार टेलिभिजन र अनलाइनको डेस्क कोअर्डिनेटरमा हिमा अर्याल यथावत रहनुभएको छ ।
तपाइँको प्रतिक्रिया