६ करोड लगानीमा किसान मार्टको तेश्रो बिक्री केन्द्र, मेयर पौडेलबाट भयो शुभारम्भ

गैँडाकोट, १ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले किसान मार्टको तेश्रो बिक्री केन्द्रको शुभारम्भ गरेको छ । वडा नम्बर ८ मा रहेको किसान सहकारीको केन्द्रीय कार्यालय नजिकै ६ करोड रुपैयाँको लगानीमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।
गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बिहीबार बिक्री केन्द्रको समुद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पौडेलले स्थानीय उत्पादनहरुको प्रवद्र्धन र बजारीकरण गुर्नका साथै उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सामान उपलब्ध हुने किसिमले बिक्री केन्द्र सञ्चालन गर्न आग्रह गर्नुभयो ।
गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले पछिल्लो समय मानिसमा समय अभावको कारण धेरै स्थानमा सामान खरिद गर्न फुर्सद नभएकोले एकै ठाँउबाट धेरै सामग्री खरिदको सेवासहित सञ्चालनमा आएको बिक्री केन्द्रको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उपप्रमुख कँडेलले गुणस्तरीय सामग्री बिक्री वितरणतर्फ ध्यान दिन आग्रह समेत गर्नुभएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र स्थानीय स्तरमै रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याइएको किसान उपभोक्ता सहकारी संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष श्रीराम सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार एक वर्षभित्रमा पाँच वटा बिक्री केन्द्र सञ्चालनमा ल्याउने रणनीति बनाएर सहकारी अगाडि बढिरहेको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष केशवप्रसाद सापकोटा, किसान बचत सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरी चालिसे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका कार्यवाहक अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा किसान मार्ट विजयचोकका संयोजक विष्णु सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव डिलाराम सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया