विद्यालयमा तोडफोड गरिनु निन्दनीय : सरोकारवाला

विन्दु वाग्ले/
गैँडाकोट, ६ वैशाख । गैँडाकोट नगरपालिकाको जनक माध्यमिक विद्यालयमा आइतबार भएको प्रदर्शनका क्रममा भौतिक संरचना तोडफोड गरिनु निन्दनीय भएको सरोकारवालाले बताएका छन् । विद्यालयका शिक्षकले कक्षा १२ मा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरुले विद्यालयको भौतिक संरचना तोडफोड गरेका थिए ।
विद्यालयको भौतिक संरचना ध्वस्त गरिनु गलत भएको नेपाल शिक्षक संघ गैँडाकोट नगर समितिका सचिव जगन्नाथ उपाध्यायले बताउनुभयो । विद्यालयको भौतिक सम्पति सबैको साझा भएको हुँदा यसरी व्यक्तिगत रुपमा गरेका गल्तीको सजाय सार्वजनिक संरचनालाई दिनु गलत भएको उहाँको भनाइ छ ।
“व्यक्तिगत रुपबाट भएको गल्तीहरु आफ्नो ठाँउमा छ, विद्यालयको संरचना भनेको सबैको साझा सम्पति हो । त्यो सबै जोड्नलाई हामी सबैको परिश्रम परेको हुन्छ । त्यसैले प्रदर्शनका क्रममा विद्यालयको संरचना ध्वस्त पार्नु सरासर निन्दनीय हो । विद्यालयको सम्पति त्यसरी तोडफोड गरिनु दुखःद भएको कुरा नेपाल शिक्षक संघको तर्फबाट व्यक्त गर्न चाहन्छु” उपाध्यायको भनाइ छ ।
गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत हेमचन्द्र पौडेलले व्यक्तिले न्याय खोज्ने क्रममा भौतीक संरचना तहसनहस गराउनु अत्यन्त निन्दनीय भएको बताउनुभएको छ । न्याय पाउनको लागि अन्य विभिन्न माध्यमहरु भए पनि आवेशमा आएर आफैले अध्ययन गर्ने विद्यालयलाई हानि गर्नु कुनै पनि दृष्टिकोणले उचित नभएको उहाँको ठम्याई छ ।
विद्या आर्जन गर्ने थलोको रुपमा रहेको विद्यालयलाई कसैले पनि व्यक्तिगत मुद्दाका कारण ध्वस्त गर्न नहुने अधिकृत पौडेलको भनाई छ । पौडेलले भन्नुभयो, “न्याय पाउनको लागि तोडफोड नै गर्नु आवश्यक छैन, अन्य विभिन्न माध्यमहरु पनि छन् । त्यतातिर जानुपर्नेमा संरचनामाथि आक्रमण गर्नु गलत हो । यस्तो कसैले पनि गर्नु हुँदैन ।”
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले गल्ती गर्ने मान्छेलाई कानुन अनुसार कारबाही गरिने बताउनुभयो । उहाँले भौतिक संरचना ध्वस्त पारेर न्याय पाउने वा नपाउने भन्ने कतै नभएको बताउँदै विद्यालयमा तोडफोड गरिनु गलत भएको बताउनुभयो ।
प्रहरी निरीक्षक श्रेष्ठले घटनाको उजुरी नदिँदै तत्कालै न्यायको लागि भन्दै नाराजुलुस तोडफोड गर्नुले घटनालाई प्रभाव पार्न खोजेको देखिने बताउनुभयो । प्रहरीले नै तत्कालै न्याय दिने जस्तो गरी हिंसात्मक गतिविधि गरिनु उचित नभएको भन्दै उहाँले दोषी ठहर भएपछि मात्र अभियुक्तलाई कानुनमा उल्लेख भएबमोजिम कारबाही हुने स्पष्ट पार्नुभयो ।
“कतिपय अवस्थामा प्रहरीलाई विश्वास नगरेको कुरा पनि गर्नुहुन्छ उहाँहरुले । कुनै अभियुक्तलाई प्रहरीले ल्याएर अनुसन्धान नै नगर्ने भन्ने त हुँदैन । तर उजुरी गर्नुभन्दा अगाडि नै तत्कालै न्याय हुनुपर्छ भन्ने हिसाबले जुन तोडफोड गर्ने गर्नुहुन्छ, त्यो सरासर गलत हो” श्रेष्ठले भन्नुभयो, “प्रहरीले अनुसन्धान गरेर अगाडि बढ्छ, उजुरीभन्दा पहिल्यै हिसांत्मक प्रवृत्ति देखाउनु निन्दनीय छ ।”
आइतबार बिहान जनक माविमा शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । ती विद्यार्थीले दुईवटा मोटरसाइकल जलाइदिएका छन् साथै विद्यालयका भौतिक संरचना तहसनहस भएका छन् । उनीहरुले प्रहरीमाथि ढुंगामुढा गर्दा ६ जना प्रहरी घाइते भएका थिए भने स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास छोडिएको थियो ।
तपाइँको प्रतिक्रिया