१६ वर्षीया कविताको हत्या आरोपित सार्वजनिक

काठमाडौं, २३ चैत । उदयपुरको बेलका नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कवितासँग एकै कक्षामा अध्ययनरत छात्रा साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय एक युवक छन् । पक्राउ परेका साथीका दाजु भने अर्को विद्यालयमा अध्ययनरत छन् ।
सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका-३ किराँत चोक बस्दै आएका १९ वर्षीय विनोद ढकाल र कोशी जनता माध्यमिक विद्यालय रामपुर कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
मंगलबार बिहान उदयपुर बेलका नगरपालिका-३ डंगटोलमा सोही स्थान बस्ने १६ वर्षीया कविता सुनुवारको शंकास्पद अवस्थामा शव फेला परेको थियो।
प्रहरी नायब उपरीक्षक गौतमका अनुसार उक्त घटनाबारे अनुसन्धान गर्दा सानो सानो कुरामा सुनुवारले आफूलाई होच्याउने र चिढ्याउने गरेको भन्दै आरोपित बालिकाले ठूलो बुवाका छोरा ढकाललाई सुनाएकी थिइन्।
ढकाल एक वर्षदेखि किराँत चोकस्थित आफ्नै काका जितबहादुर ढकालको घरमा बस्दै आएका थिए। नाबालिकाले ढकालले मिलेर सुनुवारलाई रिसिइबीका कारण मार्ने योजना बनाएको गौतमले बताए।
एसइई तयारी कक्षाका लागि विद्यालय सँगै जाँदा बाटोमा ढकालले बियरको बोतलले सुनुवारमाथि प्रहार गरेका हुन्।
फेरि घटनाबारे अरूले थाहा पाउने डरले उनीहरूले सुनुवारमाथि ढुंगा प्रहार गरी हत्या गरे। हत्यापछि शवलाई ४० मिटर पर घिसारेर यशोदा खोलामा रहेको काठको गोलिया छेउ राखेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
उदयपुर जिल्ला अदालतबाट आरोपित बालिकालाई ५ दिन र विनोद ढकाललाई ७ दिन म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाइँको प्रतिक्रिया