मतदातालाई प्रभावित पार्न आचारसंहिता उल्लंघन गर्दै भरतपुरमा बाँडियो भूमिको निस्सा

चितवन, २३ वैशाख । निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै शुक्रबार भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । भूमि आयोगका उपाध्यक्ष नेकपा माओवादी केन्द्र निकटका नहेन्द्र खड्का र भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।
निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । आयोगका केन्द्रीय उपाध्यक्ष खड्का सरकारी गाडी लिएर निस्सा बाँड्न र मतदाता फकाउन गणेशस्थान पुगेका थिए ।
जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए कारबाही गर्न सकिने उनले जानकारी दिए ।
‘निर्वाचनको बेलामा भूमिहीन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइँदैन’, उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टीकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी गरे ।
‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो। कति जनालाई बाँडे थाहा भएन’, उनले भने, ‘मैले लालपुर्जा बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’
मतदाता प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरू विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी हाल्ने तयारी गरेकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी हाल्न लागेको जानकारी दिइन् ।
तपाइँको प्रतिक्रिया