निउरो खानुहोस्, यस्ता छन् फाइदाहरु

काठमाडौं, ७ जेठ । वनजंगलमा सजिलै पाइने, निउरो । बनाउन सजिलो हुने, निउरो । खादा स्वादिलो हुने निउरो । स्वास्थ्यका लागि पोषिलो निउरो । पूर्ण अर्ग्यानिक सब्जी, निउरो । कति गुणी निउरो ?
हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निउरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निउरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निउरोले नै सागसब्जीको अभाव टार्न सकिन्छ । निउरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ । आलु र निउरोको ग्रेभी पनि स्वादिलो हुन्छ । यस्तै, निउरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन ।
पौष्टिकताले भरिपूर्ण
निउरो खानुको फाइदैफाइदा छन् । आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निउरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ ।
पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निउरो अरू बढी लाभदायक छ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।
पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन् ।
पूर्णत: जैविक
निउरो यतिबेलाको मौसमी सागसब्जी हुन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात् यो पूर्णत: जैविक हुन्छ ।
अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ ।
के हो निगुरो ?
यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निउरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै, स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निउरो बढी स्वादिलो हुन्छ ।
पहाडदेखि तराईसम्म
निउरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निउरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।
करेसाबारीमा रोप्न सकिन्छ
त्यसो त निउरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ । जंगलमा निउरोको जरा जतिपनि पाइन्छन् । जरालाई करेसाबारीमा रोप्न सकिन्छ । तर, निउरोको लागि माटो ओसिलो हुनुपर्छ । चिस्यान भएको माटोमा निउरो उत्पादन गर्न सकिन्छ ।
तर, सर्तक हुनुपर्छ
निउरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निउरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निउरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निउरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया