अक्सफोर्डका विद्यार्थीले भेटे नगरप्रमुख अधिकारीलाई, गरे सवालजवाफ

गैँडाकोट, ३० जेठ । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा सोमबार विद्यार्थीको एक हुल नगरपालिका प्रमुखलाई खोज्दै आए । उनीहरुले नगरप्रमुख मदनभक्त अधिकारीसँग समय मागे अनि विभिन्न प्रश्न गरे । गैँडाकोट–२ को अक्सफोर्ड सेकेन्डरी स्कुलमा कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थीले नगर प्रमुखसँग सवाल जवाफ गरेका हुन् । विद्यार्थीका प्रश्न ध्यानपूर्वक सुन्नुभएका नगर प्रमुख अधिकारीले पालैपालो उत्तर दिनुभयो ।
छात्रा दिक्षा काफ्लेले सुरुमा अधिकारीलाई प्रश्न गर्नुभयो–“नगरपालिकामा शैक्षिक अवस्था कस्तो छ ?” उहाँको प्रश्न यतिमात्र थिएन उहाँले पुनः सोध्नुभयो– शैक्षिक अवस्था सुधारका लागि के कस्ता योजना बनाउने सोचमा हुनुहुन्छ ?
छात्रा काफ्लेको प्रश्नको उत्तर दिँदै नगरप्रमुख अधिकारीले शैक्षिक सुधारका लागि केहि विद्यालयहरुले अझै धेरै मेहनत गर्नुपर्ने बताउनुभयो । प्रविधीमैत्री शैक्षिक विकासका लागि ठोस योजना बनाएर अगाडि बढ्ने तयारीमा रहेको उहाँको भनाई थियो ।
विद्यालयका छात्र सक्षम घिमिरेले शिक्षकहरु राजनीतिक दलहरुमा आवद्ध हुने गर्दछन् । त्यस विषयमा नगरप्रमुखको धारणा के छ ? भन्दै नगरप्रमुखलाई प्रश्न गर्नुभयो ।
अधिकारीले जवाफमा शिक्षक कुनैपनि राजनीतिक दलमा आस्था राख्न सक्ने तर दलको कार्यकारी पदमा बस्न नपाउने बताउनुभयो । उहाँले गैँडाकोटमा कुनैपनि शिक्षक राजनीतिक दलमा आवद्ध भएको छ भने आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो ।
छात्रा एलिना क्षेत्रीले बेरोजगारीसंगै युवायुवती लागुऔषध दुव्र्यसनमा फस्दै गइरहेको प्रति नगरपालिकाको धारणा बुझ्न प्रश्न गर्नुभयो । उहाँको प्रश्न थियो “गैँडाकोट नगरपालिका भित्र धेरै युवा युवतीहरु बेरोजगारको कारण दुव्र्यसनमा फस्दै गएका छन्, यो चुनौतीलाई तपाँइले कसरी समाधान गर्ने योजना बनाउनुभएको छ ?”
नगरप्रमुख अधिकारीले पछिल्लो समय युवायुवती लागुऔषध दुव्र्यसनमा फस्दै जानु राष्ट्रकै प्रमुख समस्या भएको उल्लेख गर्नुभयो । यसको समाधानका लागि नगरपालिकामा स–साना उद्योग सञ्चालन गर्न प्रोस्ताहन गरिने, केहि युवाहरुलाई प्राविधिक क्षेत्रमा सिपमुलक तालिम प्रदान गरिने, सचेतना कार्यक्रम गरेर युवाहरुलाई स्वरोजगार बन्न प्ररित गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख र विद्यार्थीहरुको संवाद सुनिरहनुभएकी नगर उपप्रमुख शान्ति कोइरालाले नगरपालिकामा भएका समस्या विज्ञहरुको माध्यमबाट समाधान गर्ने बताउनुभयो । उहाँले अहिलेका बालबालिका भोलिका कर्णधार भएका हुनाले उनीहरुको शैक्षिक उन्नयनको लागि नगरपालिकाले भूमिका खेल्ने बताउनुभयो ।
विद्यालयले शैक्षिक ज्ञान वृद्धिको लागि प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारी, अक्सफोर्ड विद्यालयका शैक्षिक सल्लाहकार वसन्तप्रसाद अधिकारी, सहायक प्राचार्य चिरञ्जीवी पोखरेल, लेखा अधिकृत नारायण सिग्देल लगायतको उपस्थिति रहेको थियो । शिक्षक र विद्यार्थी गरेर कार्यक्रममा ७२ जनाको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रिया