सडकमा सास्ती : गैँडाकोटमा अविरल वर्षापछि तालियो सडकमै पानी (फोटोफिचर)

गैँडाकोट, १७ साउन । सोमबार रातिदेखि परिरहेको अविरल वर्षाको कारण गैँडाकोट नगरपालिकाभित्रका विभिन्न वडामा सडकमा पानी तालिएको छ । सडकमै पानी तालिएपछि यात्रु र चालकले सास्ती पाएका छन् ।
अविरल वर्षाले गैँडाकोट प्रवेश बिन्दु पुलचोकदेखि जयश्री खोलासम्म पूर्वपश्चिम राजमार्गका केही भागसमेत जलमग्न भएका छन् । सडकमा जमेको पानीमाथि सवारी साधन कुदाइएका छन् ।
निकासबिनाको विकासले गैँडाकोटलाई बर्सेनि सताउँदै आएको छ । स्थानीय तहको नेतृत्व फेरिए पनि गैँडाकोटवासीले पाउने सास्ती फेरिएको छैन । सडकमा पानी तालिएपछि डोजरले नाला सफा गरिएको छ । नाला सफा गर्ने क्रममा राजमार्गसँग जोडिएका शाखा बाटो नै भत्काउँदा सडक सञ्जाल टुटेको छ ।
दिउँसो एकछिन वर्षा थामिएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि समेत देशका सबैजसो भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
विद्यालय डुबानमा
अविरल वर्षाले गैँडाकोट नगरपालिका वडा नम्बर पाँचमा रहेको जनक नमुना माध्यमिक विद्यालय डुबानमा परेको छ । वर्षाको पानी विद्यालयको लेखा शाखाभित्र प्रवेश गरेको शिक्षक हिमालदेव पँगेनीले जानकारी दिएका छन् ।
वर्षाको पानीले निकास नपाउँदा गैँडाकोट नगरपालिका वडा नम्बर चारका धेरै घर डुबानामा परेका छन् । अविरल वर्षा नरोकिएपछि र चारैतिर घरहरु डुबानमा परेपछि मंगलबार गैँडाकोटका केही विद्यालयमा पठनपाठनसमेत अवरुद्ध बनेको छ ।
सबै तस्बिरहरु : सूर्यप्रकाश कँडेल/मुकुन्दसेन टिभी
तपाइँको प्रतिक्रिया