माओवादी पार्टी कमजोर भए कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने प्रचण्डको भनाई

काठमाडौं, भदौ ३० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गर्नुभएको छ । बिहीवार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताउनु भयो ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताउनुभएको हो । उहाँले माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको पनि बताउनु भयो । उहाँले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउनसके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने बताउनु भयो ।
पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताउनु भयो । उहाँले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया