गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रूपमा लिएको छु: प्रचण्ड

काठमाडौँ, १७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका छन् । बिहीबार गोरखा-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखा जिल्लाको इतिहास, राष्ट्रिय एकता, राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेकाले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका हुन् ।
अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए। जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने उनको भनाइ छ।
अध्यक्ष दाहालले भने, ‘मेरो गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रूपमा लिएको छु। चुनौती गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको सन्दर्भमा वा राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका छ। गोरखाको ऐतिहासिक परम्परालाई अघि बढाउने र राज्यको एकतावद्ध गराउने अवसरको रूपमा र नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने एउटा ठूलो अवसरको रूपमा पनि मैले गोरखामा मेरो उम्मेदवारीलाई लिएको छु। यसलाई सफलतापूर्वक कार्यसम्पादन गर्नसके वा हामी सबै मिलेर सम्भव छ। यो निर्वाचन सामान्य निर्वाचनको रूपमा नलिदिनुहोला। यो एकपटक फेरि निरंकुशता, अराजकता, प्रतिगमनतिर जाने कि ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाइँ हो। नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु छ। यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन सकेनौँ, आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन। त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ।’
उनले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको पनि बताए।
तपाइँको प्रतिक्रिया