रवि लामिछानेको पार्टीको घोषणापत्र सार्वजनिक, यस्ता छन् एजेण्डा

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेको छ । विहीबार काठमाडौंमा सार्वजनिक गरिएको चुनावी ‘वाचापत्र’मा उक्त पार्टीले यस्तो घोषणा गरेको हो ।
‘नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्न सरकारी दर्ता सेवामा शून्य शुल्कको प्रावधान राखेर प्रक्रियालाई एकद्वार प्रणालीमा ल्याइनेछ,’ वाचापत्रमा उल्लेख छ । सातै प्रदेशमा सांस्कृतिक केन्द्रहरुमा स्थापना गरी नयाँ पुस्तालाई त्यसको महत्व र संरक्षणमा सहभागी हुन प्रोत्साहित गर्ने समेत उल्लेख छ ।
पार्टीले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने एजेण्डा अघि सारेको छ । पार्टीले भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने संकल्प लिएको हो । स्वतन्त्र पार्टीले भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएकाले त्यसविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने पनि वाचा गरेको छ ।
कानुन अनुसार गर्नुपर्ने काम नगरे वा ढिलो गरे अनि नगर्नुपर्ने काम गरे त्यसलाई पनि भ्रष्टाचार मानेर दण्डित गर्ने स्वतन्त्र पार्टीको प्रतिबद्धता छ । स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुख्य अपराधीसँगै मतियारहरूलाई पनि समान कारबाही गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारसम्बन्धी सूचना दिने सूचकलाई प्रोत्साहन तथथा संरक्षण गर्न सूचक संरक्षण ऐन बनाएर लागू गर्ने प्रतिबद्धता स्वतन्त्र पार्टीले गरेको छ ।
ललिता निवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी खरिद काण्ड, कोभिड भ्याक्सिन काण्ड, यती र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्डलगायत भ्रष्टाचारको आशंका गरिएका र देशव्यापी विवाद बहस भएका मुद्दाका फाइल खोल्ने विषय पनि घोषणापत्रमा समेटेको छ ।
यसअघि प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि कला, साहित्य, संस्कृति, संगीत र फिल्मलाई पनि चुनावी घोषणापत्रमा समेटेका छन् ।
तपाइँको प्रतिक्रिया