रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

काठमाडौं, १७ असार । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । केही दिनअघि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए ।
राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।
ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।
लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए।
तपाइँको प्रतिक्रिया