निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी तयार छ : सशस्त्र प्रहरी महानिरीक्षक

काठमाडौँ, १९ वैशाख । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन् ।
सोमबार दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै आईजीपी सिंहले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताएका हुन् ।
उनले भने, ‘स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बल नेपाल ७५३ वटै स्थानीय तहमा खटिसकेको छ। हालको प्राथमिकता स्थानीय निर्वाचन हो। निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सीमितताबीच असिमितताको प्रदान गर्नु नै नेतृत्वको मुख्य गुण हो । निर्वाचनलाई सफल ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बल नेपालले सरोकारवालासँग समन्वय गर्दै त्रुटीरहित तवरले कार्यसम्पादन गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।’
उनले निकट भविष्यमा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको बताए ।
तपाइँको प्रतिक्रिया