नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग होइन : रामचन्द्र पौडेल

भरतपुर, २२ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग नभएको बताएका छन् । पाँचदलीय सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
‘आज बिहान म भएको ठाउँमा बोलाएर जगन्नाथ पौडेलजी, कृष्णलाल सापकोटाजीलाई मैले भनेँ, नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन । केपी ओली र नेकपा एमालेसँग हाम्रो प्रतिस्पर्धा छ । हाम्रो असहमति छ’ नेता पौडेलले भने, ‘उहाँहरु अलि अधैर्य जस्तो पाएँ । उहाँहरु भावावेश र उत्तेजनामा मात्रै असन्तुष्टि व्यक्त गरेर उत्रिएको जस्तो लाग्यो ।’
नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिले यो गठबन्धनको आह्वान आफूले गरेको बताउँदै उनले भने, ‘एमाले हाम्रो प्रतिद्वन्दी हो, माओवादी केन्द्र होइन । केपी ओलीको विरुद्धमा आज गठबन्धन गर्नुपरेको छ ।’ मिलेर यो मुलुकको अस्थिरता, असुरक्षा र गरिबीलाई हटाउनु पर्ने उनको भनाइ थियो ।
यो गठबन्धन नभएको भए कृष्णचन्द्र नेपाली कसरी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्थे ? नेता पौडेलको प्रश्न थियो ।
तपाइँको प्रतिक्रिया