नारायणी नदीमा बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा जोड

गैँडाकोट, २७ जेठ । नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको नारायणी दोस्रो जलसंवाद तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नारायणी नदीमा बढिरहेको प्रदूषणका कारण मानव स्वास्थ्यमा असर परेको र नदीका जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको बताएका हुन् ।
कार्यक्रम गैरसरकारी संस्था सहमती गैँडाकोटको आयोजना र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा शुक्रबार सहमती गैँडाकोटको सभाहलमा भएको हो ।
कार्यक्रममा सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजनाका कोअर्डीनेटर दिनेश बस्ताकोटीले नदी आसपासमा बसोबास गर्ने वासिन्दाले उत्पन्न फोहोरलाई नदीमा मिसाइदिने, नदि किनारमा व्यवसाय सञ्चालन गर्नेहरुले जथाभावी फोहोर गर्ने गर्नाले पछिल्लो समय नदी प्रदूषित हुँदै गएको उल्लेख गर्नुभयो ।
उहाँले विश्व वन्यजन्तु कोषसँगको साझेदारीमा परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का वाटर एशोसिएट करुण देवानले पानीसम्बन्धी चेतना प्रवाह तथा प्रभाव मूल्यांकन गरी न्यूनीकरणका कार्यक्रम, सामूहिकरुपमा सरोकारवालाको ऐक्यबद्धता र नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । जवसम्म नीतिगत रुपमा कार्ययोजना अगाडी बढ्दैन तवसम्म कुनैपनि योजना सफल नहुँने उहाँको भनाई थियो । उहाँले नदीको संरक्षणका लागि मुख्य गरेर सिमसार क्षेत्रको संरक्षण, नदीमा आश्रीत समुदायको जीविकोपार्जनमा वैकल्पीक बाटो अपनाउन सिपमुलक तालिम प्रदान र खानेपानीको सहजताका लागि पहलकदमी सुरु गरेको बताउनुभयो ।
सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले नारायणी नदीको जल प्रदूषण हुँदा अति संकटापन्न अवस्थाका घडियाल गोही सहितका जलचरको वासस्थानमा नै समस्या आउन थालेको बताउनुभयो । उहाँले ज्ञान भएका व्यक्तिले व्यवहारमा उतार्न नसक्दा चुनौती बढेको भन्दै हरेक खालका फोहोर व्यवस्थापनसँग सम्बन्धित हरेक विषयलाई पानीसँग केन्द्रित गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सिद्धार्थ क्याम्पसकी कोअर्डिनेटर रुवी शाह, गोर्खा ब्रुअरीका योजना प्रमुख शैलेन्द्र चापागाँई, ग्रिन पिक्सल कन्सल्ट्यान्टका प्रतिनिधिद्धय बासुदेव न्यौपाने र कविराज खतिवडा लगायतले नारायणी नदीमा मात्रै नभएर नदीको उद्गमस्थलबाट नै सफाइ गर्नुपर्नेमा जोड दिएका थिए । कृषिको उत्पादकत्व बढाउनका लागि समेत सिँचाइका लागि शुद्ध पानी प्रयोग गर्नुपर्ने उनीहरुको भनाई थियो ।
तपाइँको प्रतिक्रिया